पछिल्लो समय रिलिज नेपाली फिल्मको कमाइ विवरण सार्वजनिक भएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्म 'राम नाम सत्य' ले २ करोड ७८ लाख १८ हजार ८४१ रूपैयाँ ग्रस कमाइ गरेको छ। चैत २७ गतेदेखि प्रदर्शनमा आएको फिल्मले पछिल्लो शनिबारसम्म उक्त कमाइ गरेको हो। उक्त कमाइ हुँदा फिल्मको ९७ हजार २०५ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, फिल्म 'पहाड' को कमाइ भने कमजोर देखिएको छ। वैशाख १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले पछिल्लो शनिबारसम्म (पाँच दिन) मा ४६ लाख ७६ हजार ६३७ रूपैयाँ ग्रस कमाएको छ। यो अवधिमा फिल्मको १४ हजार ३१८ वटा टिकट बिक्री भएका छन्।
'राम नाम सत्य' माइकल चन्द निर्देशित एक्सन ड्रामा हो। यसमा विराज भट्ट, सुशील श्रेष्ठ, सुनिल थापा, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरीलगायत कलाकारहरूको अभिनय छ।
त्यस्तै, तुलसी घिमिरे निर्देशित 'पहाड' सामाजिक कथामा बनेको फिल्म हो। यसमा मदन कृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, अरूण क्षेत्री, पञ्चमी घिमिरेलगायत कलाकारहरूको अभिनय छ।