'फेन्टासी कमेडी ड्रामा' विधामा निर्माण भएको फिल्म 'लाइफ ड्यामेज' मा समावेश गीत सार्वजनिक गरिएको छ।
जेठ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको गीत 'ब्युटिफुलम' राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा रिलिज गरिएको हो।
सार्वजनिक डान्सिङ नम्बरको गीतमा एसडी योगीको संगीत, आदर्श सुशीलको शब्द रचना तथा एसडी योगी र रेश्मा पुनको स्वर छ। गीतको भिडिओको कोरियोग्राफी किरण थापाले गरेका हुन्।
भिडिओमा फिल्मका मुख्य कलाकारहरू प्रस्तुत छन्। केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन्। उनले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयर समेत गरेका छन्।
फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त र निमेष श्रेष्ठका साथमा ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिश जंग थापा, अजय पन्त, सविन बाँस्तोला, निर्मला खड्कालगायत कलाकारहरूको अभिनय छ।
फिल्मको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन्। पहिलोपटक निर्देशनमा हात हालेका श्रेष्ठले 'लाइफ ड्यामेज' दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको 'फेन्टासी कमेडी ड्रामा' हुने बताएका छन्।
कार्यक्रममा बोल्दै उनले फिल्म अन्त्यसम्म रमाइलो बनेको र दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको बताए।
अभिनेत्री सुरक्षा पन्तले चलचित्रको अवधारणा मन परेकाले आफूले काम गरेको बताइन्।
फिल्ममा प्रवीण खड्काको छायांकन, बिकेन कार्कीको सम्पादन छ।