फिल्म 'गुरूआमा' को मर्मस्पर्शी गीत सार्वजनिक गरिएको छ। काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको शीर्ष गीत 'मन मान्दै मानेन' सार्वजनिक गरिएको हो।
गीतमा गायिका समीक्षा अधिकारीको स्वर छ। गीतको शब्द, संगीत तथा संगीत संयोजन बीबी अनुरागीको हो भने मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।
भिडिओमा मिथिला शर्मा मुख्य रूपमा देखिएकी छन्।
गीत गुरूआमा (शिक्षिका) र विद्यार्थीबीचको भावनात्मक सम्बन्धमा आधारित छ। विशेषगरी गुरूआमाको बिदाइका बेला विद्यार्थीको दृष्टिकोणबाट गीत प्रस्तुत गरिएको छ।
गीतले कक्षाकोठामा पढाइ मात्र होइन, शिक्षिकाले दिएको माया, मार्गदर्शन, अनुशासन र आत्मीय सम्बन्धलाई सम्झाएको छ। जब प्रिय शिक्षिका बिदा हुन्छिन्, त्यसलाई सहज रूपमा स्वीकार गर्न नसक्ने विद्यार्थीको मनस्थिति गीतमा अभिव्यक्त गरिएको देखिन्छ।
बाहिरबाट बिदाइको क्षण भए पनि भित्रभित्रै विद्यार्थीको मन रोइरहेको, सम्झनाले भरिएको र रोक्न खोजिरहेको अवस्था गीतले देखाउन खोजेको छ। शिक्षक र विद्यार्थीबीचको सम्बन्ध केवल औपचारिक नभई भावनात्मक, पारिवारिक र प्रेरणादायी पनि हुन्छ भन्ने सन्देश गीतले दिन्छ।
फिल्ममा मिथिलाका साथमा बुद्ध तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल, ध्रुव कोइराला, टिका सानु, उत्तम केसी, सुष्मा थापालगायत कलाकारहरूको अभिनय छ।
'गुरू आमा' को कथा तथा निर्देशन प्रेम सोनी सुनारको हो भने निर्माण सीता विश्वकर्मा र प्रेम सोनी सुनारले गरेका हुन्। सुशील पंगेनीको लेखन रहेको फिल्मको छायांकन नवराज खड्काले गरेका छन्। फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिने दाबी निर्माणपक्षको छ।
'गुरूआमा' वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।