अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको फिल्म 'माया भनेकै यस्तो होला' को प्रदर्शन मिति घोषणा गरिएको छ।
निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौता अनुसार यो फिल्म आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो।
यसअघि निर्माण पक्षले फिल्म तीजको अवसर पारेर प्रदर्शनमा आउने जानकारी दिए पनि आधिकारिक मिति भने तय गरेको थिएन।
वितरकहरूसँगको पछिल्लो चरणको छलफलपछि तीजको विशेष अवसर र कुशे औंशी (बुबाको मुख हेर्ने दिन)का दिन फिल्म रिलिज गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ।
'माया भनेकै यस्तो होला' लाई रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन्।
अभिनेत्री रेखा यो फिल्ममार्फत ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन्। यसअघि 'हिम्मतवाली' र 'मालिका' जस्ता फिल्म निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशन हो।
फिल्ममा अभिनयमा नभएर निर्देशनमा मात्र पूर्ण रूपमा केन्द्रित भएकी रेखाले यसपटक आफ्नै ब्यानर 'रेखा फिल्मस्' भन्दा बाहिर आएर काम गरिरहेकी हुन्।
'दिया एण्ड अमु फिल्मस्' को ब्यानरमा निर्माण भएको फिल्ममा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहार छन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ। विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ। त्यस्तै, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको समेत अभिनय छ।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको फिल्ममा ध्रुव लम्सालको पटकथा लेखन छ।
फिल्मले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई चित्रण गर्ने दाबी गरिएको छ।
फिल्म सुदीप बरालले छायांकन गरेका हुन्।