२०७६ सालको सुपरहिट फिल्म 'छ माया छपक्कै' को सिक्वेलको काम औपचारिक रूपमा अगाडि बढेको छ।
सोमबार बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा 'छ माया छपक्कै २' को शुभमुहूर्त गरिएको हो। फिल्मको छायांकन भने वैशाख १८ गतेदेखि सुरू हुनेछ।
पहिलो श्रृंखलाकै टिमले 'छ माया छपक्कै २' निर्माण गर्न लागेको हो।
फिल्ममा निर्देशक दीपेन्द्र लामाले नै निर्देशन गर्नेछन्। मुख्य भूमिकामा दीपकराज गिरी र केकी अधिकारी दोहोरिएका छन्।
यसपटक मोडल तथा अभिनेत्री सनिशा भट्टराई पनि शीर्ष भूमिकामा देखिने भएकी छन्। '१२ गाउँ' र 'नरसिंहा अवतार' मा अभिनय गरिसकेकी उनको यो तेस्रो फिल्म हुनेछ।
अन्य कलाकारबारे भने निर्माण पक्षले हालसम्म केही सार्वजनिक गरेको छैन। दीपकराज गिरी र दीपाश्री निरौला समूहको कम्पनी आमा सरस्वती मुभिज र निर्माता रोहित अधिकारीको सहकार्यमा फिल्म बन्न लागेको हो।
नुवाकोट, पोखरा आसपास र काठमाडौंमा छायांकन हुने फिल्म सुशन प्रजापतिले खिच्नेछन्। 'छ माया छपक्कै २' यस वर्षको दसैंमा प्रदर्शन हुनेछ।