एक समय नेपाली फिल्ममा राजेश हमाल र धिरेन शाक्यको सहकार्यलाई निकै रूचाइएको थियो।
उनीहरूले 'सिमाना', 'भिष्मप्रतिज्ञा', 'दादागिरी' लगायत थुप्रै फिल्ममा लगातार सहकार्य गरेका थिए। तर राजेश र धिरेन लामो समयदेखि एकसाथ पर्दामा देखिएका छैनन्।
यसबीच उनीहरूबीच सम्बन्ध राम्रो नरहेको चर्चा समेत बेला-बेलामा चल्दै आएको थियो। बुधबार आयोजित एक गीत रिलिज कार्यक्रममा भने दुवैले उपयुक्त अवसर मिले फेरि सहकार्य गर्न तयार रहेको बताएका छन्।
दुईबीच किन सहकार्य हुन सकिरहेको छैन भन्ने सञ्चारकर्मीको प्रश्नमा धिरेनले आफूलाई औपचारिक प्रस्ताव नआएको बताए।
कार्यक्रममा उनले भने, 'सहकार्यको विषयमा कुरा भइरहेको होला। तर मकहाँ कुरा आएको छैन। यदि सहकार्यको प्रस्ताव आयो भने हामी नकार्न सक्दैनौं। काम गर्छौं। नयाँ पुस्ताका कलाकारहरू आएका छन्, समय पनि परिवर्तन हुँदै गएको छ। समयलाई पर्खिऔं, छिट्टै आउन पनि सक्छ।'
त्यस्तै, राजेश हमालले विगतमा आफूहरू निकै सक्रिय हुँदा धेरै फिल्ममा सँगै काम गरेको स्मरण गरे। उनले भने, 'उहाँ र मेरो जोडी दर्शकले निकै रूचाउनुभएको थियो। दुई जना आउनका लागि कथावस्तु पनि त्यहीअनुसारको हुनुपर्यो। सबै कुरा मिल्नुपर्यो, समय पनि मिल्नुपर्यो। अहिले त्यो जुरेको छैन। यदि जुर्यो भने, वा हामीमध्ये कसैले निर्माण गर्यौं र कथावस्तु उपयुक्त भयो भने दुवै जना तत्पर छौं।'
एकअर्कालाई राम्रोसँग चिन्ने भएकाले सहकार्य सहज हुने पनि राजेशले बताए। उनले थपे, 'हामी एकअर्कालाई राम्रोसँग चिन्छौं, ट्युनिङ पनि मिल्छ। सही कथावस्तु, सही व्यक्ति र समयअनुकूल प्रस्तुति भयो भने हामी सहकार्यका लागि तयार छौं।'
गायिका करूणा राईको गीत 'ज्यु ज्यु सोल्टी' रिलिज कार्यक्रममा राजेश र धिरेन सँगै उपस्थित भएका हुन्। यो गीतमा राजेश हमालले अभिनय गरेका छन्।