अभिनेता मुकुन भुषाल अभिनीत फिल्म 'लज्जावती'को छायांकन सकिएको छ।
राजबहादुर सानेको निर्देशनमा बनेको फिल्मले इन्डक्ल्यापसँगै आगामी साउन २९ गतेलाई प्रदर्शन मिति तय गरिएको हो।
निर्माण पक्षका अनुसार काठमाडौं धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य खिच्दै ४५ दिनमा छायांकन सकिएको हो।
'लज्जावती' मा मुकुन फरक अवतारमा देखिँदैछन्।
छायांकन सेटबाट प्राप्त तस्बिरमा उनी काखमा शिशु बोकेको अवस्थामा देखिएका छन्। परम्परागत ग्रामीण भेषभूषामा प्रस्तुत मुकुनको यो रूपले ‘लज्जावती’मा भावनात्मक तथा जिम्मेवारीपूर्ण पात्र निर्वाह गरेको संकेत गर्छ।
राष्ट्रिय पुरस्कार विजेता 'बुलबुल'बाट फिचर फिल्ममा डेब्यु गरेका मुकुनले त्यसमा निभाएको चोपेन्द्र पात्रबाट प्रशंसा बटुलेका थिए। त्यसयता उनले ‘झिंगेदाउ’, ‘ऐंचोपैंचो’, ‘उपहार’ र ‘पूर्णबहादुरको सारंगी’लगायतका फिल्ममा अभिनय गरिसकेका छन्। उनको मुख्य भूमिका रहेको ‘रोल नं. १’ यतिबेला प्रदर्शनरत छ।
'लज्जावती' को कुरा गर्दा यो आहा फिल्म्सको ब्यानरमा निर्माण भएको हो। यसका प्रस्तुतकर्ता सौरभ वली हुन् भने कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता रहेका छन्। दिनेशराज बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मको छायांकन दिव्यराज सुवेदीले गरेका हुन्।
फिल्ममा मुकुनसँगै श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, रामहरि खड्का, विनोद श्रेष्ठ, दीपक थापा, काजल भुजेललगायत कलाकारहरूको अभिनय छ।
देव महर्जनको द्वन्द्व निर्देशन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्मलाई देशभर कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ। साउन २९ मा हालसम्म अन्य कुनै नेपाली फिल्मले प्रदर्शन घोषणा नगरेकाले ‘लज्जावती’ले एकल प्रदर्शनको अवसर पाउने निर्माण पक्षको अपेक्षा छ।