यतिबेला सिनेमा हलमा थुप्रै नेपाली फिल्म प्रदर्शनरत छन्। तर एकाधबाहेक धेरैको व्यापार निशाराजनक देखिएको छ।
पछिल्लो समय रिलिज फिल्महरूको बक्सअफिस नतिजा हेर्दा दर्शक तान्न सफल फिल्मको संख्या निकै सीमित देखिन्छ।
यसवर्ष वैशाख १ गतेदेखि जेठ १५ गतेसम्म डेढ महिनामा ११ नेपाली फिल्म प्रदर्शनमा आइसकेका छन्। तीमध्ये 'लालीबजार' ले मात्र बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गर्दै सुपरहिट बन्न सफल भएको छ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार स्वस्तिमा खड्काको मुख्य अभिनय रहेको 'लालीबजार' ले ७ करोड ९० लाख रूपैयाँभन्दा धेरै कमाइ गरेको छ। यो विवरण गत शनिबारसम्मको हो। वैशाख २५ गते रिलिज यो फिल्म अहिले पनि सुखद् शोसहित प्रदर्शनरत छ।
यसपछि कमाइका हिसाबले दोस्रो स्थानमा फिल्म 'परालको आगो' छ। सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापा अभिनीत यो फिल्मले ४ करोड २७ लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको बोर्डको विवरणमा उल्लेख छ। बैशाख ११ गते रिलिज यो फिल्म अहिले भने धेरैजसो हलबाट उत्रिसकेको छ।
यी केही फिल्मबाहेक अधिकांश फिल्मको बक्सअफिस अवस्था कमजोर देखिन्छ। बैशाख २५ गते रिलिज विजय बराल र वर्षा राउत अभिनीत 'मालती मंगले' ले ५१ लाख ७३ हजार रूपैयाँभन्दा बढी व्यापार गरेको छ। सोही मितिमा रिलिज मिथिला शर्मा अभिनीत 'गुरूआमा' को ग्रस ब्यापार २९ लाख ४२ हजार रूपैयाँ छ।
वैशाख १ गते रिलिज सुरक्षा पन्त अभिनीत 'लाइफ ड्यामेज' ले ३३ लाख २६ हजार रूपैयाँ ग्रस कमाएको बोर्डको विवरणमा देखिन्छ। यही मितिमा रिलिज आँचल शर्मा अभिनीत 'एक मुठ्ठी बादल' को अवस्था झन् कमजोर देखिन्छ, यसले बक्स अफिसमा ६ लाख रूपैयाँ पनि कमाउन सकेन।
त्यस्तै, जेठ ८ गतेदेखि प्रदर्शनमा आएका 'मितज्यू' र 'काजी' मध्ये 'मितज्यू'ले ९ दिनमै १ करोड २० लाख रूपैयाँभन्दा बढी कमाइ गरेको छ। यो यस वर्ष रिलिजमध्ये धेरै कमाउने तेस्रो नम्बरमा छ।
त्यस्तै, 'काजी' को व्यापार करिब ४० लाख ८८ हजार रूपैयाँ हाराहारीमा छ। 'मितज्यू' र 'काजी' दुवै फिल्म अहिले दोस्रो सातामा प्रदर्शनरत छन्। 'मितज्यू' मा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर शीर्ष भूमिकामा छन् भने 'काजी' मा विपिन कार्की र केकी अधिकारीको मुख्य अभिनय छ।
पछिल्लो शुक्रबार (जेठ १५) देखि प्रदर्शनमा आएका 'रोल नं. १' र 'कुम्भ'को प्रारम्भिक व्यापारिक नतिजा मिश्रित देखिएको छ। '‘रोल नं. १'ले तुलनात्मक रूपमा राम्रो प्रतिक्रिया पाइरहेको बताइए पनि 'कुम्भ' भने कमजोर देखिन्छ।