फिल्म 'गौंथली'को गीत 'आँखा भरी आँसु' सार्वजनिक गरिएको छ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो।
गीत सार्वजनिक समारोहलाई निर्माण टिमले फरक शैलीमा प्रस्तुत गरेको थियो। कार्यक्रममा फिल्मका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला-बेहुलीको भेषमा उपस्थित थिए। पञ्चेबाजाको धुन, जन्तीको वेशभूषामा सजिएका अतिथि तथा विवाहघरझैं सजाइएको कार्यक्रमस्थलले वास्तविक विवाह समारोहको झल्को दिन्थ्यो।
बेहुला-बेहुली, जन्ती र पञ्चेबाजाको माहोलले कार्यक्रमलाई विशेष बनाएको थियो। तर, त्यो कुनै विवाह समारोह नभई फिल्म ‘गौंथली’ को गीत सार्वजनिक कार्यक्रम थियो।
सार्वजनिक गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर छ। गीतमा संगीत थानेश्वर गौतमकै रहेको छ भने शब्द डा. भोला रिजालले लेखेका हुन्।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार अरूण क्षेत्री र सिम्रन खड्कालगायत कलाकारहरूको अभिनय छ। गीत सार्वजनिक कार्यक्रममा पनि उनीहरू भिडिओमा जस्तै बेहुला–बेहुलीको भेषमा उपस्थित भएका थिए, जसले धेरैको ध्यान आकर्षित गरेको थियो।
गीतले माइतीघर छाडेर विवाहपश्चात् पराइघर जानुपर्दाको भावनात्मक क्षणलाई प्रस्तुत गरेको छ। जन्मघर, गाउँ, आमा-बुवा तथा आफन्तलाई छाडेर नयाँ जीवन सुरू गर्नुपर्ने छोरीको वियोग र पीडालाई गीतमा मार्मिक रूपमा चित्रण गरिएको छ।
छोरीलाई जतिसुकै माया गरे पनि विवाह गरेर विदाइ गर्नुपर्ने सामाजिक संस्कार तथा त्यसले निम्त्याउने भावनात्मक पीडालाई गीतले समेटेको छ। जन्मघर, साथीसंगी र परिवार छाडेर पराइघर जाने छोरीको कथा प्रस्तुत गरिएको गीतले अभिभावकको मनोदशा र विदाइको क्षणलाई उजागर गरेको छ।
डा. कपिल रिजालको निर्देशन रहेको फिल्म 'गौंथली' आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। निर्माण पक्षका अनुसार फिल्ममा ‘गौंथली’लाई घर, परिवार र आपसी आत्मीयताको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।
फिल्ममा अरूण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा आबद्ध छन्।

फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ। पाश्र्व संगीत एलिस कार्कीले तयार गरेका हुन्।
हरि हुमागाईंको छायांकन रहेको फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका छन्। फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् भने ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेको छ।
डा. भोला रिजालले दुई दशकअघि 'गौंथली' नामक चलचित्र निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो 'गीति चलचित्र' (म्युजिकल फिल्म) मानिन्छ।
यसपटक सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ फिल्म ‘गौंथली’ निर्देशन गरेका हुन्।