फिल्म 'गौंथली' ले बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ। प्रदर्शनको १० दिनमा फिल्मले ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ ग्रस कमाइ गरेको हो।
यो कमाइ प्रदर्शनको दोस्रो आइतबार (हिजो) सम्मको हो। यस अवधिमा फिल्मका २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएका छन्।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार फिल्मले प्रदर्शनको पहिलो १० दिनमै उल्लेखनीय व्यापार गर्न सफल भएको हो।
कपिल रिजाल निर्देशित 'गौंथली' साउन १ गते रिलिज भएको थियो। फिल्ममा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। निर्माता सुमन गिरी र कपिल रिजाल हुन्।
चलचित्र विकास बोर्डले यसअघिका फिल्म 'रोल नं. १' र 'भागदौड' को पछिल्लो बक्स अफिस विवरण पनि सार्वजनिक गरेको छ।
विवरणअनुसार 'रोल नं. १' को ग्रस कमाइ १ करोड ७८ लाख ५१ हजार ६९८ रूपैयाँ छ। त्यस्तै, 'भागदौड' को १ लाख १९५ रूपैयाँ पुगेको विवरणमा उल्लेख छ।