डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा फिल्म 'द राइज अफ साम्राज्य' निर्माण हुने भएको छ।
निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको टाइटल घोषणा गरेको हो।
लेखक बुद्धिसागरको लेखन रहने फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्नेछन्। यसअघि 'अगस्त्य च्याप्टर १', 'कर्मा' जस्ता फिल्म निर्देशन गरेका चौधरीले यसपटक अझै ठूलो क्यानभासमा काम गर्दैछन्। फिल्मको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् भने सह-निर्मातामा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन्।
कार्यकारी निर्माता पाण्डेले लाइनअप र मेकिङको हिसाबले यो नेपाली फिल्म उद्योगकै अहिलेसम्मकै ठूलो स्केलको 'एपिक एक्सन ड्रामा' हुने दाबी गरे।
सार्वजनिक थिम पोस्टरमा आगोको लप्का, घोडामा सवार मानिसहरू र राजर्सी कालखण्डका व्यक्तिहरू समेटिएका छन्, जसले द्वन्द्व र क्रान्तिको संकेत गर्छ।
फिल्ममा मानकृष्ण महर्जनको डीओपी र श्री श्रेष्ठको एक्सन निर्देशन रहने छ। त्यस्तै, फिल्ममा डिजिटल पार्टनरमा ओएसआर डिजिटल, पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो र वितरणमा डिसीएन जोडिएका छन्।
निर्माण टिमले निर्देशक, लेखक र प्राविधिक टोली सार्वजनिक गरे पनि कलाकारहरूको लाइनअप भने सार्वजनिक गरेको छैन। यसबारे केही दिनमै जानकारी दिइने जनाएको छ।
आगामी भदौ पहिलो साताबाट पूर्वी नेपालमा फिल्मको छायांकन गर्ने तयारी छ। ७० दिनको सेड्युलसहित छायांकनमा निस्किने तयारी निर्माण टिमले गरेको छ।
प्रदर्शन मिति घोषणा गर्न भने हतार नगर्ने निर्देशक सौरभ चौधरीले बताए।
'अहिलेलाई हामीले थिम र टाइटल अनाउन्समेन्ट गरेका छौं। पूर्ण रूपमा छायाकंन सकिएसँगै पोस्टको कामलाई मध्यनजर गर्दै प्रदर्शन मिति तय गर्ने सोच हो,' उनले भने, 'पहिला एउटा लाइन अप तयार होस्, त्यसपछि रिलिज डेटबारे सोचौँला।'