द्रव्य प्रोडक्सनको व्यानरमा हास्यप्रधान फिल्म 'फलानो ढिस्कानो' निर्माण हुने भएको छ। निर्माण पक्षले मंगलबार फिल्मका दुईवटा पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको हो।
सार्वजनिक पोस्टरहरूमा कथावाचकका रूपमा चर्चित कन्टेन्ट क्रियटर साइग्रेस पोखरेललाई देख्न सकिन्छ।
जय नेपाल हलमा आयोजित घोषणा कार्यक्रममा बोल्दै साइग्रेसले भने, 'मैले आबाट आमा फिल्म खेलेपछि अब अभिनय गर्दिनँ भन्ने सोचेको थिएँ। तर अभिनय नशा नै रहेछ। त्यसैले यस फिल्मको कथा मन परेका कारण यसमा आबद्ध भएको हुँ।'
'आबाट आमा'बाट फिल्ममा डेब्यु गरेका साइग्रेस यसको सिक्वेलमा समेत देखिँदैछन्।
'फलानो ढिस्कानो' को कुरा गर्नुपर्दा यसमा साइग्रेसबाहेक अन्य कलाकारहरूको नाम भने हाललाई सार्वजनिक गरिएको छैन। निर्माण टिमले आगामी दिनमा अन्य कलाकार तथा प्राविधिकहरूको बारेमा विस्तृत जानकारी गराउने जनाएको छ।
राजकुमारको निर्देशनमा बन्ने यस फिल्मको छायांकन आगामी दसैंपछि सुरू हुने बताइएको छ।