कलाकार, निर्माता तथा निर्देशक माओत्से गुरूङले आफ्नो नयाँ फिल्म 'पेन्सन पट्टा'ले अव्यक्त प्रेम, त्याग र मानवीय सम्बन्धको कथा भन्ने बताएका छन्।
भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यो सोसल ड्रामाले लाहुरे परिवारको परिवेश र गुरूङ समुदायको जीवनलाई केन्द्रमा राखेको उनले बताए।
उनी फिल्मको मुख्य शक्ति अव्यक्त प्रेमको कथा रहेको बताउँछन्।
'मनमा भएर पनि व्यक्त गर्न नसकिएको प्रेम कस्तो हुन्छ भन्ने कुरा फिल्मले देखाउँछ,' माओत्सेले भने, 'अहिले प्रेमको परिभाषा बदलिँदै गएको समयमा यस्तो कथा दर्शकलाई फरक अनुभूति दिने विश्वास छ।'
फिल्म हेरेर बाहिर निस्कँदा दर्शकले एउटा सन्देश लिएर फर्कून् भन्ने आफ्नो चाहना रहेको पनि माओत्सेले बताए।
'जीवनमा सम्पत्ति, धन वा प्रसिद्धि मात्रै सबैथोक होइन,' उनले भने, 'आत्माको सन्तुष्टि, त्याग र अरूका लागि सोच्न सक्नु नै जीवनको ठूलो प्राप्ति हो। कसैका लागि केही त्याग गर्नु, दान गर्नु वा अरूको हितका लागि सोच्नु पनि जीवनको ठूलो प्राप्ति रहेछ भन्ने अनुभूति लिएर दर्शक बाहिर निस्कून् भन्ने अपेक्षा छ।'
पूर्व ब्रिटिस आर्मी परिवारको सन्तान भएकाले लाहुरे समाज र परिवेशलाई नजिकबाट बुझेको अनुभवले फिल्म बनाउन सहज भएको उनले बताए। यो विषयमा फिल्म बनाउने सोच भने १२–१५ वर्षअघिदेखिकै रहेको उनको भनाइ छ।
पहिलो फिल्म 'दयारानी' सफल भए पनि दोस्रो फिल्मको सफलताको कुनै ग्यारेन्टी नरहेको माओत्सेले स्वीकार गरे। तर निर्माण र मेकिङका हिसाबले यसमा अझ धेरै मेहनत गरिएको उनको दाबी छ।
'मेहनत गर्दैमा फिल्म चल्ने होइन,' उनले भने, 'अन्ततः दर्शकलाई कथा र कन्टेन्ट मन पर्नुपर्छ।'
'पेन्सन पट्टा' मा दयाहाङ राई, गौमाया गुरूङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरूङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरूङ, मनोज गुरूङ, अनुशा राई, माया गुरूङ, विश्वास गुरूङ र लुनिभा तुलाधरलगायत कलाकारहरूको अभिनय छ।
माओत्से गुरूङ फिल्म्सको ब्यानरमा निर्माण भएको 'पेन्सन पट्टा'को कथा तथा निर्देशन स्वयं गुरूङकै हो।
फिल्मको निर्माता मिन कोन्मे गुरूङ, भोजबहादुर गुरूङ, माया गुरूङ र सपना गुरूङ हुन्। यसमा सुशन प्रजापतिको छायांकन, नेमिश श्रेष्ठ र केर डी. कोइच लिनुचको सम्पादन छ।
हरितालिका तीजको पूर्वसन्ध्यामा फिल्म रिलिज हुनेछ।
