नीता ढुंगानाको निर्देशनमा बनेको फिल्म 'पार्वती' को टिजर सार्वजनिक गरिएको छ। गुरू पूर्णिमाको अवसर पारेर बुधबार निर्माण टिमले एक मिनेट ५७ सेकेन्ड अवधिको टिजर रिलिज गरेको हो।
टिजरमा अटिजम भएकी दिदी र उनका भाइबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको छ। पार्वतीको भूमिकामा रहेकी नीता ढुंगाना र किरण नामक भाइको भूमिकामा रहेका बालकलाकार अशोक दर्जीलाई टिजरमा प्रमुख रूपमा प्रस्तुत गरिएको छ। दिदी–भाइबीचको माया र आत्मीयतालाई टिजरमा देखाइएको छ।
टिजर सम्पादन साहिल खानले गरेका हुन्। यसअघि फिल्ममा समावेश रत्यौली गीत 'नौतुना रेलैमा' ले दर्शकको राम्रो प्रतिक्रिया प्राप्त गरिसकेको छ। नीता ढुंगानाकै कथा र निर्देशनमा बनेको 'पार्वती'मा उनी स्वयं मुख्य भूमिकामा छिन्। साथै अशोक दर्जी, दीपाश्री निरौला, सिरू विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारहरूको अभिनय छ।
फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले तयार पारेका छन्। सुदीप बराल डीओपी रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन छ। फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्मातामा शंकर पाण्डे छन् भने निर्माता हरिहर अधिकारी हुन्।
'पार्वती' भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।