डा. कपिल रिजाल निर्देशित फिल्म 'गौंथली' यसवर्षकै धेरै कमाउने नेपाली फिल्म बनेको छ। बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गर्दै फिल्मले उक्त रेकर्ड बनाएको हो।
फिल्मले प्रदर्शनको १३ औं दिनमै १० करोड रूपैयाँको आँकडा पार गरेको हो। चलचित्र विकास बोर्डको बक्स अफिस स्रोतका अनुसार बिहीबार बिहानसम्म फिल्मले १० करोड १५ लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ।
अरूण क्षेत्री र सिम्रन खड्का अभिनीत 'गौंथली' ले स्वस्तिमा खड्का अभिनीत 'लालीबजार' को नाममा रहेको रेकर्ड पनि तोडेको छ। यसअघि यस वर्षको धेरै कमाउनेमा थम थापा निर्देशित 'लालीबजार' थियो।
गत वैशाखमा रिलिज भएको उक्त फिल्मले ५१ दिनको प्रदर्शन अवधिमा ९ करोड ३२ लाख रूपैयाँ ग्रस कमाइ गरेको थियो। 'गौंथली' ले भने केवल १३ दिनमै उक्त आँकडा पार गर्दै नयाँ रेकर्ड कायम गरेको हो।
सामाजिक-पारिवारिक कथामा आधारित 'गौंथली' शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दैछ।
बिहीबारदेखि हलिउड फिल्म 'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे' प्रदर्शनमा आएपछि 'गौंथली' का केही शो घटेका छन्। यद्यपि, फिल्मको अकुपेन्सी भने सुखद् नै रहेको देखिन्छ।
डा. भोला रिजालको कथामा रहेको 'गौंथली' सुमन गिरी र डा. कपिल रिजालले निर्माण गरेका हुन्।
फिल्ममा अरूण क्षेत्री र सिम्रन खडकासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा र सीतादेवी तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ।