चलचित्र विकास बोर्डले 'ओल्ड इज गोल्ड' शीर्षकमा पुराना नेपाली फिल्महरूको विशेष प्रदर्शनी गर्ने भएको छ।
आफ्नो २६ औं वार्षिकोत्सवका अवसरमा बोर्डले साउन २२ गते शुक्रबारदेखि फिल्महरूको विशेष प्रदर्शनी गर्न लागेको हो।
नेपाली फिल्मको ऐतिहासिक विरासत संरक्षण, प्रवद्र्धन तथा नयाँ पुस्तालाई पुराना नेपाली फिल्मसँग परिचित गराउने उद्देश्यले कार्यक्रम गर्न लागेको बोर्डले जनाएको छ। प्रदर्शनी साउन २७ गते बुधबारसम्म चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ।
प्रदर्शनीमा नेपाली फिल्मको इतिहासमा महत्वपूर्ण स्थान बनाएका १० फिल्म निःशुल्क देखाइने बोर्डले जनाएको छ। तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा बोर्डको चलचित्र संग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका फिल्मलाई दर्शकमाझ पुनः प्रस्तुत गर्न कार्यक्रम आयोजना गरिएको हो।
प्रदर्शनीको पहिलो दिन साउन २२ गते शुक्रबार दिउँसो १२ बजे हिरासिंह खत्री निर्देशित 'आमा' प्रदर्शन हुनेछ। साउन २३ गते शनिबार बिहान ११ बजे प्रकाश थापा निर्देशित 'सिन्दुर' र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित 'परिवर्तन' देखाइनेछ।
साउन २४ गते आइतबार बिहान ११ बजे प्रकाश थापा निर्देशित 'मनको बाँध' तथा दिउँसो २ बजे प्रदीप रिमाल निर्देशित 'के घर के डेरा' प्रदर्शन हुनेछ। साउन २५ गते सोमबार दिउँसो १२ बजे प्रेमबहादुर बस्न्यात निर्देशित 'कुमारी' देखाइने बोर्डले जनाएको छ।
त्यसैगरी, साउन २६ गते मंगलबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित 'शान्तिदीप' र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित 'हिजो आज भोलि' प्रदर्शन हुनेछन्।
प्रदर्शनीको अन्तिम दिन साउन २७ गते बुधबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित 'बदलिँदो आकाश' तथा दिउँसो २ बजे प्रकाश थापा निर्देशित 'जीवनरेखा' देखाइनेछ।
एउटा मात्र चलचित्र प्रदर्शन हुने दिन शो दिउँसो १२ बजे सुरू हुनेछ भने दुई फिल्म प्रदर्शन हुने दिन पहिलो शो बिहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे सञ्चालन हुनेछ।
बोर्डले पुराना नेपाली फिल्ममार्फत तत्कालीन समाज, संस्कृति, भाषा, जीवनशैली तथा चलचित्र निर्माण अभ्यासबारे नयाँ पुस्तालाई जानकारी गराउन प्रदर्शनी महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ। साथै, नेपाली फिल्मको इतिहास, संरक्षण, अभिलेखीकरण, अध्ययन र अनुसन्धानप्रति रूचि बढाउन यस कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा प्रवेश निःशुल्क हुनेछ। सिट सीमित भएकाले इच्छुक दर्शकलाई अग्रिम रूपमा सिट सुरक्षित गर्न बोर्डले आग्रह गरेको छ।