प्रदर्शन तयारीमा रहेको फिल्म 'लज्जावती'को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा प्रेम, धोका, विछोड र त्यसपछि जीवनमा आउने संघर्ष तथा उतारचढावलाई दुई प्रेमिल जोडीको कथामार्फत प्रस्तुत गरिएको छ।
फिल्ममा मुकुन भुसाल-जानुका विश्वकर्मा र श्रीकृष्ण निरौला-मेनुका माझी दुई जोडीका रूपमा देखिएका छन्।
सुरूमा सुखद देखिने उनीहरूको पारिवारिक सम्बन्ध र मित्रता समयसँगै अभाव, सामाजिक दबाब र विभिन्न परिस्थितिका कारण जटिल बन्दै गएको ट्रेलरमा देखाइएको छ।
निर्देशन राजबहादुर सानेका अनुसार फिल्मले प्रेम सम्बन्धमा आउने चुनौती र जीवनका संघर्षलाई मुख्य विषय बनाएको छ।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्कालगायत कलाकारहरूको अभिनय छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। फिल्ममा कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता, दिनेश बुढाथोकी कार्यकारी निर्माता छन्। दिव्य राज सुवेदीको छायांकन रहेको फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन छ।
'लज्जावती' साउन २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।