चलचित्र विकास बोर्डले प्रदर्शनरत सिनेमाहरूको क्लिप खिच्ने र सामाजिक सञ्जालमा राख्ने गतिविधि नगर्न अनुरोध गरेको छ।
बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै चलचित्रहरूको अनधिकृत रेकर्डिङ तथा डिजिटल पाइरेसी बढ्दै गएको भन्दै त्यसमा संलग्न नहुन सबैलाई आग्रह गरेको हो।
साथै, अनधिकृत रेकर्डिङ, डिजिटल पाइरेसी तथा प्रतिलिपि अधिकार उल्लंघनसम्बन्धी गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही हुन सक्ने चेतावनी समेत बोर्डले दिएको छ।
प्रदर्शनरत 'गौंथली'लगायतका चलचित्रको क्लिपहरू सामाजिक सञ्जालमा अनधिकृत रूपमा फैलिएको अवस्थामा बोर्डले यस्तो चेतावनी दिएको हो। 'गौंथली' निर्माण पक्षले यस विषयमा कानुनी प्रक्रिया पनि अघि बढाइसकेको बताउँदै चलचित्रका दृश्य नखिच्न र सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गरेको थियो।
नेपाली तथा विदेशी चलचित्रहरूको दृश्य, क्लिप वा अंश रेकर्ड गरेर टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा अपलोड, प्रसारण वा वितरण गर्ने गतिविधि गैरकानुनी भएको बोर्डले स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, 'चलचित्रघरभित्र चलचित्रको कुनै पनि अंश खिच्ने, रेकर्ड गर्ने, प्रतिलिपि बनाउने, प्रसारण गर्ने वा सार्वजनिक रूपमा उपलब्ध गराउने कार्य प्रचलित प्रतिलिपि अधिकार ऐन, २०५९, विद्युतीय कारोबार ऐन, २०६३ तथा चलचित्रसम्बन्धी अन्य प्रचलित कानुनी व्यवस्थाविपरीत हुन सक्ने विषयप्रति बोर्ड सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ।'
चलचित्र निर्माण ठूलो लगानी, दीर्घकालीन परिश्रम, सिर्जनशीलता तथा हजारौं चलचित्रकर्मीको सामूहिक योगदानको परिणाम भएको बोर्डले उल्लेख गरेको छ।
अनधिकृत रेकर्डिङ र डिजिटल पाइरेसीका कारण निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक, प्रदर्शक तथा लगानीकर्तालाई प्रत्यक्ष आर्थिक क्षति पुग्ने र नेपाली चलचित्र उद्योग तथा बौद्धिक सम्पत्तिको संरक्षणमा गम्भीर नकारात्मक असर पर्ने बोर्डको भनाइ छ।
चलचित्र विकास बोर्डले सामाजिक सञ्जाल वा डिजिटल माध्यममा अनधिकृत रूपमा रेकर्ड गरिएका चलचित्रका दृश्य, क्लिप वा अन्य सामग्री पोस्ट गरिएको भए तत्काल हटाउन अनुरोध गरेको छ। चलचित्र हलभित्र कुनै पनि चलचित्रको भिडिओ वा अडिओ रेकर्डिङ नगर्न र यस्तो गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।
बोर्डले सामाजिक सञ्जाल प्रयोगकर्ता, कन्टेन्ट क्रिएटर, पेज सञ्चालक तथा डिजिटल प्लेटफर्म प्रयोगकर्तालाई प्रतिलिपि अधिकारको सम्मान गर्दै जिम्मेवार र कानुनसम्मत व्यवहार अपनाउन आग्रह गरेको छ।
त्यस्तै चलचित्र सञ्चालक तथा प्रदर्शकलाई क्याम-रेकर्डिङ र पाइरेसी नियन्त्रणका लागि आन्तरिक निगरानी प्रणाली थप प्रभावकारी बनाउन तथा यस्ता गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि बोर्डले अनुरोध गरेको छ।
