अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको फिल्म 'माया भनेकै यस्तो होला'को शीर्ष गीत सार्वजनिक भएको छ।
निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो।
गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ। स्वरमा प्रशान्तलाई विज्ञानी पराजुलीले साथ दिएकी छन्।
यो गीतले एकै नजरमा अंकुराएको प्रेम, त्यसपछि जन्मिने कल्पना र प्रेमिल अनुभूतिलाई समेटेको छ।
सुन्दर युवती देखेपछि युवकको मनमा उठ्ने भावना र उसले गर्ने भविष्यको कल्पनामा गीत केन्द्रित छ। प्रेमिल शैलीको गीतले चलचित्र पूर्णतः प्रेमकथामा आधारित रहेको संकेत गर्छ। गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडिओमा दील श्रेष्ठ, सृष्ठि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलगायत कलाकारहरूको अभिनय छ।
'हिम्मतवाली' र 'मालिका' निर्देशन गरिसकेकी रेखा थापाको 'माया भनेकै यस्तो होला' तेस्रो निर्देशकीय फिल्म हो।
'दिया एण्ड अमु फिल्मस्' को ब्यानरमा बनेको फिल्ममा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित कलाकारसम्मको अभिनय छ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह मुख्य भूमिकामा छन्। साथै लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारहरूको पनि अभिनय छ।
ध्रुव लम्सालको स्क्रिप्ट रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावनालाई प्रस्तुत गर्ने निर्माण टिमको भनाइ छ। फिल्मका निर्माता हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्।
डिओपी सुदीप बराल र सम्पादन बनिश शाहको छ। 'माया भनेकै यस्तो होला' भदौ २६ गतेदेखि प्रदर्शन तयारीमा छ।
भिडिओः