अभिनेत्री तथा निर्देशक झरना थापाले फिल्म 'ए मेरो हजुर ५'को छायांकन यही महिनाभित्र सुरू गर्ने भएकी छन्।
साउन २९ गतेदेखि फिल्मको छायांकन सुरू गर्न लागेको उनले जानकारी दिइन्। झरनाका अनुसार बाजुरा जिल्लाको बडीमालिका मन्दिरबाट छायांकन सुरू हुनेछ। फिल्म सञ्जय लामाले खिच्नेछन्।
झरनाले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै यसबारे जानकारी दिएकी छन्।
उनले बडीमालिकालाई नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, सांस्कृतिक गौरव र पर्यटन प्रवद्र्धनसँग जोडिएको महत्वपूर्ण धरोहरका रूपमा उल्लेख गरेकी छन्। यस्तो ऐतिहासिक तथा धार्मिक स्थलबाट सिनेमाको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उनको भनाइ छ।
उनले नेपाली प्रकृति, संस्कृति र भावनालाई अझ व्यापक रूपमा दर्शकमाझ पुर्याउने उद्देश्यले आफूहरूको प्रयास रहने बताएकी छन्।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने सिनेमाका निर्माता सुनिलकुमार थापा हुन्।
मुख्य भूमिकामा अनमोल केसी र सुहाना थापा रहनेछन्। उनीहरूले यसअघि 'ए मेरो हजुर ३' र 'ए मेरो हजुर ४' मा सहकार्य गरेका थिए र उनीहरूको जोडीलाई दर्शकलेरूचाएका थिए।
'ए मेरो हजुर' शृंखलाका अघिल्ला चारै संस्करण व्यावसायिक रूपमा सफल मानिन्छन्। पहिलो संस्करण स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेका थिए भने दोस्रो संस्करणदेखि झरना थापाले निर्देशनको जिम्मेवारी सम्हाल्दै आएकी छन्।