फिल्म 'गौंथली' को बक्स अफिस कमाइ साढे १३ करोड रूपैयाँ नाघेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले साउन १७ गतेसम्म १३ करोड ६४ लाख ४६ हजार ५३५ रूपैयाँ ग्रस कमाइ गरेको हो।
बोर्डका अनुसार फिल्मका ४ लाख ९४ हजार ९१५ टिकट बिक्री भएका छन्। साउन १ गतेदेखि प्रदर्शनमा आएको 'गौंथली' ले १७ दिनमै यो कमाइ र दर्शक संख्या हासिल गरेको हो।
'गौंथली' यस वर्ष अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनिसकेको छ। यसले यसअघि प्रदर्शनमा आएका थुप्रै चर्चित फिल्महरूको बक्स अफिस कमाइलाई समेत पछि पारेको छ। अहिलेसम्मको अवस्थामा यो फिल्म नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने सूचीको १२ औं स्थानमा उक्लिएको छ। यसले 'जेरी अन टप' (१२ करोड २८ लाख), 'शत्रु गते' (१२ करोड ६५ लाख), 'आबाट आमा' (१३ करोड २० लाख) को लाइफटाइम कमाइलाई उछिनिसकेको छ।
कपिल रिजाल निर्देशित 'गौंथली' मा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। फिल्मका निर्माता सुमन गिरी र कपिल रिजाल हुन्।