फिल्म 'पच्चीस पच्चीस' को निर्माण घोषणा गरिएको छ। सोमबार काठमाडौं दरबारमार्गमा आयोजित कार्यक्रममा फिल्मको शीर्षक, निर्माण टोली र मुख्य कलाकारको परिचय गराइएको हो।
कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्देशन रंगपत्रकार तथा निर्देशक सुब्रत आचार्यले गर्नेछन्। 'अधकट्टी' र 'सुश्री सम्पत्ती' निर्देशन गरिसकेका आचार्यको यो तेस्रो फिल्म हो।
फिल्मको निर्माता कर्ण कार्की हुन् भने सह-निर्मातामा अजय न्यौपाने र धीरेन्द्रलाल कर्ण छन्। कार्यकारी निर्माता दीपेन्द्र गौतम 'माइकल', लाइन प्रोड्युसर प्रकाश कँडेल र मनिषा राउत हुन्।
'पच्चीस पच्चीस'मा अबिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरी मुख्य भूमिकामा रहनेछन्। त्यस्तै, दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा (भक्ते भाइ) ले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्नेछन्।
फिल्मको कथा सुब्रत आचार्य र जयाको हो भने पटकथा सुशील देवकोटाले लेखेका हुन्। छिट्टै छायांकनमा जाने तयारीमा रहेको 'पच्चीस पच्चीस' हरि हुमागाईंले खिच्नेछन्।
फिल्म सामाजिक-कमेडी कथामा आधारित मनोरञ्जनात्मक सिनेमा हुने निर्माण पक्षले जनाएको छ।
