साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति 'कोही कि बरबाद होस्' बाट प्रेरित फिल्म ‘कमला मिस’ को काठमाडौंमा प्रिमियर गरिएको छ।
सोमबार साँझ जय नेपालमा हलमा आयोजित प्रिमियरमा फिल्मकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति थियो। उपस्थित अधिकांशले फिल्मको विषयवस्तु, प्रस्तुति र सामाजिक सन्देशको प्रशंसा गर्दै यसलाई मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने अर्थपूर्ण फिल्मका रूपमा प्रशंसा गरेका थिए।
बालमनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको 'कमला मिस'ले आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, आमाको खोजी, माया पाएपछि जीवनमा आउने परिवर्तन तथा एक महिलाले भोग्ने संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया थियो।
फिल्मले पारिवारिक सम्बन्ध, शिक्षा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई भावनात्मक रूपमा चित्रण गरेको उनीहरूको भनाइ छ।
प्रिमियर कार्यक्रममा प्याब्सन र एनप्याब्सनका पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षकहरू समेत उपस्थित थिए। उनीहरूले बालमनोविज्ञान, शिक्षक–विद्यार्थीबीचको आत्मीय सम्बन्ध तथा अभिभावकको भूमिकालाई फिल्मले संवेदनशील रूपमा प्रस्तुत गरेको बताएका थिए।
वरिष्ठ कलाकार निर शाहको निर्देशनमा बनेको 'कमला मिस' मा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय छ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारद्वारा निर्माण गरिएको फिल्मका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन्।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन छ।
'कमला मिस' यही साउन २२ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।


