वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म 'म मदनकृष्ण'मा हरिवंश आचार्यको भूमिका अभिनेता अरूण क्षेत्रीले निर्वाह गर्ने भएका छन्।
निर्माण टिमले लामो समयदेखि रहेको कौतुहलता अन्त्य गर्दै अरूणलाई उक्त भूमिकाका लागि अनुबन्ध गरेको हो।
रियल लाइफमा मदनकृष्ण श्रेष्ठका कलाकारिता साझेदार हरिवंश आचार्य थिए भने अब पर्दामा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी र हरिवंशको भूमिकामा अरूण क्षेत्री देखिनेछन्। अरूण अहिले बक्स अफिसमा सुपरहिट फिल्म ‘गौंथली’का मुख्य अभिनेता हुन्।उनले आफ्नो डेब्यु फिल्म महापुरूषमा हरिवंशको छोराको भूमिका निर्वाह गरेका थिए।
निर्देशक मिलन चाम्सका अनुसार अरूणलाई 'म मदनकृष्ण'सँगै हरिवंश आचार्यको जीवनमा आधारित आगामी बायोपिकका लागि पनि एकैपटक अनुबन्ध गरिएको छ।

'हामी सशक्त अभिनय गर्ने कलाकारको खोजी गर्दै जाँदा अरुण क्षेत्रीसम्म पुगेका हौं। उहाँलाई हरिवंश दाइको भूमिकामा दर्शकले पक्कै मन पराउनुहुनेछ भन्ने विश्वास छ,' चाम्सले भने।
केही दिनअघि निर्माण घोषणा गरिएको 'म मदनकृष्ण'ले मदनकृष्ण श्रेष्ठको जीवनका सुख-दुःख, संघर्ष, उतारचढाव, बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्यलगायतका महत्वपूर्ण पक्षलाई समेट्नेछ।
फिल्ममा केकी अधिकारीले मदनकृष्णकी पत्नी यशोदाको भूमिका निर्वाह गर्नेछिन्। साथै, राजाराम पौडेल, किरण केसी, रूषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको यस फिल्मका निर्माता राजकुमार श्रेष्ठ हुन्। निर्देशक मिलन चाम्सले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित फिल्म 'अञ्जिला' निर्देशन गरेका थिए।
फिल्म 'म मदनकृष्ण'को डिजिटल अधिकार ओएसआर डिजिटलले महंगो मूल्यमा खरिद गरेको निर्माण टिमले जनाएको छ।
भदौ दोस्रो सातादेखि फिल्मको छायांकन सुरू हुने जनाइएको छ।
फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्।