फिल्म 'तिनीहरू: एलिफेन्ट्स इन द फग' नेपालबाट एकेडेमी अवार्ड (अस्कर)का लागि छनोट भएको छ। अविनाश विक्रम शाह निर्देशित फिल्मले सन् २०२७ मा घोषणा हुने ९९ औं एकेडेमी अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको हो।
अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्न दुई नेपाली फिल्मले आवेदन दिएका थिए।
छनोट समितिका अनुसार 'तिनीहरू: एलिफेन्ट्स इन द फग' र 'गौंथली'मध्येबाट 'तिनीहरूः एलिफेन्ट्स इन द फग'लाई नेपालको प्रतिनिधि फिल्मका रूपमा छनोट गरिएको हो।
दुवै फिल्मको मूल्यांकनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक पक्ष तथा कलात्मक शिल्पलाई आधार बनाएर 'तिनीहरूः एलिफेन्ट्स इन द फग' छनोट गरिएको समितिले जनाएको छ।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)का अध्यक्ष लक्ष्मीनाथ शर्माले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।
अविनाश विक्रम शाहको निर्देशन रहेको 'तिनीहरू: एलिफेन्ट्स इन द फग'मा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, आशान्त शर्मा, गौरी मल्ल, माओत्से गुरूङलगायत कलाकारहरूको अभिनय छ।
'तिनीहरू: एलिफेन्ट्स इन द फग' यसअघि नै अन्तर्राष्ट्रिय मञ्चमा चर्चा बटुलिसकेको फिल्म हो। कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा छनोट भएको फिल्मले सोही विधामा जुरी पुरस्कारसमेत जितेको थियो। यो कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिल्म बनेको हो।
कान्समा ऐतिहासिक उपलब्धि हासिल गरेपछि फिल्म अहिले नेपालमा प्रदर्शनरत छ।
फिल्म नेपालमा यतिबेला दोस्रो सातामा प्रदर्शनरत छ।
