फ्राइडे रिलिजको अवसर पारेर एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। 'झिंगे दाउ २', 'कार्की साइँला' र 'माया बस्छ की के हो!' एकै मितिमा शुक्रबार रिलिज भएका हुन।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको 'झिंगे दाउ २' पारिवारिक सम्बन्ध र भावनात्मक उतारचढावमा केन्द्रित छ। दाजुभाइ तथा देउरानी-जेठानीबीचको मनमुटाव, आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने कथालाई फिल्मले प्रस्तुत गर्छ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाललगायत कलाकारहरूको अभिनय छ। सोसल ड्रामा, फ्यामिली र कमेडी जनरामा राखिएको फिल्मको रनटाइम १४९ मिनेट छ। फिल्मको निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा हुन्।
त्यस्तै, राजेन्द्र बस्नेत निर्देशित 'कार्की साइँला'मा जितु नेपाल र प्रियना आचार्य शीर्ष भूमिकामा छन्। भारी बोकेर जीविकोपार्जन गर्ने भरिया कार्की साइँलाको जीवन, प्रेम, विवाह, सन्तानको चाहना, गाउँले समाजको हेपाइ तथा संघर्षलाई फिल्मले कथाको केन्द्रमा राखेको छ। प्रियना जितुको जोडीको भूमिकामा देखिएकी छन्।
ड्रामा जनरामा राखिएको फिल्मको रनटाइम १२० मिनेट तय छ। फिल्ममा जितु र प्रियनासहित सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटालगायत कलाकारहरू पनि रहेका छन्।
फिल्मको निर्माता बालकुमार राई र निर्भिक बंजारा हुन्।
त्यस्तै, राजु अधिकारी निर्देशित 'माया बस्छ की के हो!' प्रेमकथामा आधारित फिल्म हो। यसमा सोनल तामाङ, कस्मता निरौला, लक्ष्मीकुमारी बस्नेतलगायत कलाकारहरू मुख्य भूमिकामा छन्। फिल्मले नयाँ पुस्ताको प्रेम, सम्बन्ध र आपसी समर्पणको कथा प्रस्तुत गर्छ।
फिल्मको प्रस्तुतकर्ता शरद अधिकारी, निर्माता बहादुर सिंह तामाङ रहेका छन्। यो फिल्मले शो भने एकदमै न्यून पाएको छ।