फिल्म 'जदौ'को ट्रेलर सार्वजनिक गरिएको छ। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्मको बिहीबार करिब सवा दुई मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरमा अन्तरजातीय सम्बन्धप्रति समाजमा व्याप्त विभेद, भेदभाव र त्यसबाट उत्पन्न उल्झनलाई प्रस्तुत गरिएको छ।
ट्रेलरमा फिल्मको मूल कथा भने सस्पेन्समै राखिएको छ। हाँसो, रोमान्स र रोदनको मिश्रण देखाइएको ट्रेलरले 'जदौ'लाई सामाजिक सन्देशसहितको मनोरञ्जनात्मक फिल्मका रूपमा प्रस्तुत गरेको छ। काजी लिम्बूको लेखन रहेको फिल्मले जातीय विभेदसँगै आर्थिक तथा सामाजिक असमानताको विषयसमेत उठाएको निर्माण पक्षले जनाएको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अञ्जन शर्माले नेपाली समाजमा अझै व्याप्त जातीय विभेद तथा धनीमानीबाट गरिब-निर्धामाथि हुने थिचोमिचोविरूद्ध फिल्ममार्फत आवाज उठाउने प्रयास गरिएको बताए। उनले 'जदौ'ले नेपाली जनजीवनको मौलिक कथा बोकेको उल्लेख गर्दै मनोरञ्जनसँगै सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
अर्का निर्देशक काजी लिम्बूले आफूहरूले वर्षौंदेखि भन्न चाहेको कथा 'जदौ'मार्फत प्रस्तुत गरेको बताए। उनका अनुसार यो फिल्म हेर्ने मात्र नभई महसुस र मनन गर्नुपर्ने विषयमा केन्द्रित छ।
अभिनेता मुकुन भुसालले 'जदौ'मा आफूले विगतका फिल्मभन्दा फरक भूमिका निर्वाह गरेको बताए। अभिनेत्री नीति शाहले फिल्मका लागि निकै मेहनत गरेको र परिणाम सुखद् आउनेमा आशावादी रहेको बताइन्। अभिनेता प्रभात पाल ठकुरीले 'जदौ' आफ्नो करिअरका लागि महत्वपूर्ण फिल्म रहेको उल्लेख गर्दै दर्शकलाई फिल्म हेर्न आग्रह गरे।
गीता अधिकारी, नरेश पौड्याललगायत कलाकारहरूले पनि फिल्म राम्रो बनेको र दर्शकको साथ पाउने विश्वास व्यक्त गरे। कार्यकारी निर्मात्री शान्ति पुडासैनीले निकै मेहनतका साथ फिल्म निर्माण गरिएको बताइन्। निर्माता डिल्लीराज पोखरेलले फिल्मले मनोरञ्जनसँगै जातीय विभेदविरुद्धको आवाज उठाएको उल्लेख गरे।
असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, गीता अधिकारी, नरेश पौड्याल, राजश्री थापा, विनोद न्यौपाने, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायतको अभिनय छ।
श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको फिल्मका सह-निर्मातामा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री छन्। सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्मात्री हुन्।
समीश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्मका 'जदौ हजुर' र 'तिमीसँग नबोली' बोलका गीत यसअघि नै सार्वजनिक भइसकेका छन्।