निर्देशक उपेन्द्र सुब्बाले फिल्म 'बखत्ते' निर्देशन गर्ने भएका छन्।
आन्भी फिल्म्सको प्रस्तुति तथा कबड्डी फिल्म्सको सहकार्यमा निर्माण हुने फिल्मको शुक्रबार ललितपुरस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको हो।
फिल्मको लेखन समेत उपेन्द्र सुब्बाकै रहेको छ। 'जारी २'पछि उनी 'बखत्ते' मार्फत निर्देशनमा फर्किन लागेका हुन्।
फिल्ममा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा रहनेछन्। यस्तै, शिशिर बाङ्देल, मिस्री थापा, अनुराग कुँवर, अनिल सुब्बा, विनोद न्यौपाने, शारदा गिरी, उषा किरण अधिकारी, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायत कलाकारहरूको अभिनय रहनेछ।
'बखत्ते'लाई लामो समय लिएर निर्देशन गर्न लागेको बताउँदै सुब्बाले कथा दर्शकले रूचाउने विश्वास व्यक्त गरे।
'इमानदार भएर कथा लेखेको छु, सिनेमा पनि इमानदार भएर बनाउनेछु। आशा छ, दर्शकले पनि मन पराउनु हुनेछ,' उनले भने।
आशिष तामाङ र प्रदीपजी धामी निर्माता रहेको फिल्ममा युवराज काफ्ले कार्यकारी निर्माता छन्। त्यस्तै अञ्जु पाण्डे र पुष्कर घिमिरे सह-निर्माताका रूपमा जोडिएका छन्।
पुरूषोत्तम प्रधानको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहने फिल्ममा उत्तम न्यौपानेको साउन्ड डिजाइन रहनेछ। फिल्ममा सुशान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत रहनेछ।
फिल्मलाई काठमाडौंमा एप्पल इन्टरटेनमेन्ट र काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन्सले वितरण गर्नेछन्।
