निर्माता तथा निर्देशक नारायण रायमाझीले फिल्म 'बसन्ती' निर्माणको घोषणा गरेका छन्।
शुक्रबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो।
यो नारायण रायमाझीको चौथो निर्देशकीय फिल्म हुनेछ। यसअघि उनले 'गोर्खापल्टन', 'परदेशी' र 'परदेशी २' निर्देशन गरेका थिए। यी सबै फिल्म बक्स अफिसमा सुपरहिट भएका थिए।
'बसन्ती' मा लोकदोहोरी गायक तथा संगीतकार खेम सेञ्चुरी र मोडल तथा अभिनेत्री टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन्। खेमले यही फिल्मबाट अभिनेताका रूपमा डेब्यु गर्न लागेका हुन्।
खेम र टेरियासँगै फिल्ममा सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, विजया पौडेल, हरि अधिकारीलगायत कलाकारहरूको अभिनय रहनेछ।
रिमा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मको कथा गीतकार रमेश बिजीले लेखेका हुन्। फिल्मले कस्तो कथा प्रस्तुत गर्नेछ भन्ने विषयमा भने निर्माण पक्षले खुलाएको छैन। निर्देशक रायमाझी स्वयंले लगानी गर्ने फिल्मको छायांकन शनिबारदेखि काठमाडौंमा सुरू हुनेछ।
काठमाडौंसँगै पाल्पा, जनकपुर, बुटवल तथा भारतका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ।
फिल्मका गीतमा रमेश बिजी, लालगोपाल सुवेदी, बीबी अनुरागी र नारायण रायमाझीको शब्द तथा बीबी अनुरागी र रायमाझीको संगीत रहनेछ। शिव ढकालले छायांकन गर्ने फिल्मलाई नहकुल खड्काले सम्पादन गर्नेछन्।
चन्द्रकुमार भट्टराई मुख्य सहनिर्देशक, सुजता बस्याल राना एसोसिएट निर्देशक तथा यगेबहादुर राउत र सञ्जीव चन्द सहनिर्देशक छन्। रोशन विश्वकर्मा र रविता मगरको कोरियोग्राफी, श्यामश्वेत रसाइलीको साउन्ड डिजाइन तथा मिक्सिङ र दिनेश बिष्टको भीएफएक्स रहनेछ।
यसअघि पनि 'बसन्ती' नाममा फिल्म निर्माण भइसकेको छ। २०५७ सालमा नीर शाहको निर्देशनमा बनेको उक्त फिल्म उपन्यासकार डायमण्ड शमशेर राणाको उपन्यास 'बसन्ती'मा आधारित थियो।
सो फिल्म प्रदर्शनमा आएको २६ वर्षपछि नारायण रायमाझीले सोही नाममा नयाँ फिल्म निर्माण गर्न लागेका हुन्।
