फिल्म 'बाटुलो जून'को नयाँ प्रदर्शन मिति तय भएको छ। यसअघि दसैंको अवसरमा प्रदर्शन हुने भनिएको फिल्म अब कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) देखि हलमा आउने भएको हो।
निर्देशक भुवन केसीले बुधबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।
'बाटुलो जून'मा अनमोल केसी र प्रिन्सी खतिवडाको शीर्ष भूमिका छ। फिल्मका निर्माता जिया केसी र भविष्य खड्का हुन्।
यसअघि दसैंको अवसरमा प्रदर्शन गर्ने घोषणा गरिएको फिल्मको मिति एकैपटक धेरै फिल्म प्रदर्शनमा आउने भएपछि सारिएको निर्माणपक्षले जनाएको छ।
निर्देशक भुवन केसीका अनुसार दसैंमा चारवटा फिल्म प्रदर्शनमा आउने र त्यसमा थप अर्को फिल्म पनि आउँदा शो बाँडफाँडमा समस्या हुने प्रदर्शक तथा वितरकको सुझावपछि नयाँ मितिमा फिल्म प्रदर्शन गर्ने निर्णय गरिएको हो।
नयाँ प्रदर्शन मिति घोषणा गर्दै भुवनले भनेका छन्, 'भिडेर जानुभन्दा पनि मिलेर जानमा नेपाली फिल्म उद्योगको भलाइ छ।'
सनराइज पिक्चर्स प्रालिको प्रस्तुतिमा बनेको फिल्ममा विवेक थापा सह-निर्माता छन्। फिल्मको पटकथा सामीप्यराज तिमिल्सेना र सरिन पोखरेलले लेखेका हुन्।