मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म 'जिरो डिग्री'को प्रदर्शन मिति घोषणा गरिएको छ।
निर्माण पक्षले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मलाई आउँदो माघ १५ गते अर्थात् जनवरी २९, २०२७ देखि नेपालका हलमा प्रदर्शन गर्ने घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा अभिनेता विजय बराललाई अनौठो अवतारमा देखाइएको छ। ढाका टोपी, बाक्लो जुँगा र चस्मासहित घोडामाथि सवार विजयले दायाँ–बाँया दुई पंखा बोकेको दृश्यले पोस्टरलाई कौतूहलपूर्ण बनाएको छ।
डार्क कमेडी जनरामा बनेको फिल्मले विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किएसम्म शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा सिर्जना हुने उथलपुथल र रमाइला परिस्थितिको कथा भन्नेछ।
सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको 'जिरो डिग्री' उनीहरूको हिट फिल्म 'बेहुली फ्रम मेघौली'पछिको दोस्रो सहकार्य हो।
फिल्ममा विजयसँगै सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।
फिल्मलाई निशाल पौडेलले छायांकन गरेका हुन् भने चानस पुन मगर सम्पादक रहेका छन्।
