रामबाबु गुरूङको निर्देशनमा बनेको फिल्म 'कबड्डी ५: आफ्टर द फाइनल म्याच'को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार ललितपुरको लबिम मलमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा काजीको वैवाहिक जीवन, काजी र मैयाको सम्बन्धमा आएका नयाँ मोड तथा विपिन कार्कीको भूमिकालाई प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक टिजरको तुलनामा ट्रेलरले फिल्मको कथाबारे थप संकेत गर्छ।
बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा 'शान्ति बाटिका रिसोर्ट' खोलेर व्यवसाय सुरू गर्ने योजना बनाउँछन्। तर उनीहरूको जीवनमा नयाँ उतारचढाव आउँछन्। सिर्जना गुरूङले निर्वाह गरेकी नयाँ मैयाको पात्रको प्रवेशसँगै काजीको जीवनमा रोचक मोड आउने संकेत गर्छ।
त्यस्तै, काजीको टोली र गाउँमा प्रवेश गरेको विपिन कार्कीको समूहबीचको टक्करलाई पनि ट्रेलरमा स्थान दिइएको छ।
यसअघि टिजरमा नदेखिएकी मिरूना मगर अर्थात् शान्ति मिसलाई ट्रेलरमा भने देखाइएको छ। उनको उपस्थितिले कथामा अर्को रोचक मोड आउने संकेत गरेको छ।
'कबड्डी'का यसअघिका चारवटै शृंखलाले नेपाली बक्स अफिसमा राम्रो व्यापार गरेका थिए। विशेषगरी चौथो शृंखलाले व्यावसायिक सफलताको नयाँ कीर्तिमान बनाएको थियो। अघिल्ला शृंखलाको सफलतापछि निर्माण भएको पाँचौं शृंखला कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउँदैछ।
फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरूङ, सिर्जना गुरूङ, पुस्कर गुरूङ, माओत्से गुरूङ, कमलमणि नेपाल, मिरूना मगर, कविता आले, अरूणा कार्की, शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरूङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरूङ (एलजी)को लगानी छ। सागर राज कार्यकारी निर्माता छन्।
सञ्जय लामाले छायांकन गरेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्।
फिल्मको नेपाल वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ।