अभिनेता तथा निर्देशक विराज भट्टको फिल्म '१२ गाउँ २'को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले फिल्म प्रदर्शनमा आउनुभन्दा तीन दिनअघि मंगलबार ट्रेलर सार्वजनिक गरेको हो।
यसअघि सार्वजनिक टिजरजस्तै ट्रेलरमा पनि एक्सनलाई प्राथमिकता दिइएको छ। विराज भट्टको भ्वाइसओभरबाट सुरू हुने ट्रेलरमा उनीसँगै समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ।
ट्रेलरमा गोलीबारी, कुटपिट र द्वन्द्वका दृश्यहरू समावेश छन्। विराज र समीरका केही संवादसमेत राखिएको ट्रेलरले अन्याय र अत्याचारविरूद्धको लडाइँको कथा भन्ने संकेत गर्छ।
फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, खुसी कार्की, कृशु शाही (काफिया), वर्षा इटानी, सुनील पोखरेल, प्रकाश शाह, कालु राना, सुधीर श्रेष्ठ, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटालगायत कलाकारहरूको अभिनय छ।
सरस्वती भट्ट निर्माता रहेको फिल्मको लेखन सन्तोष सरकारले गरेका हुन्। फिल्ममा स्टन्ट सिल्भा र शंकर महारजनको द्वन्द्व निर्देशन छ भने महेश पौडेलले छायांकन र बन्दे प्रसादले सम्पादन गरेका छन्।
'१२ गाउँ २' दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउँदैछ।
फिल्ममा कस्तो होला विराज र समीरको एक्सन? ट्रेलर आरटी इन्टरटेन्मेन्ट युट्युब च्यानलमा हेर्न सकिन्छ।