फिल्म 'छ माया छपक्कै २'को ट्रेलर सार्वजनिक गरिएको छ।
फिल्म रिलिजको तीन दिनअघि बुधबार बेलुका ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलर हास्यरस र मनोरञ्जनले भरिपूर्ण छ। करिब ७ वर्षअघि प्रदर्शनमा आएको सुपरहिट फिल्म 'छ माया छपक्कै'मा विवाह बन्धनमा बाँधिएका दीपकराज गिरी र केकी अधिकारीको पात्र दोस्रो शृंखलामा पनि श्रीमान्-श्रीमतीकै भूमिकामा देखिएका छन्। फिल्ममा दीपकराजको पात्र 'पठाओ' चालकको रूपमा रहेको ट्रेलरबाट थाहा पाउन सकिन्छ।
अघिल्लो भागको निरन्तरता स्वरूप तयार पारिएको यस कथामा मुख्य जोड सन्तान प्राप्तिको सास्ती र संघर्षमा दिइएको छ। साथै, अभिनेत्री सनिशा भट्टराईको प्रवेशले कथामा थप नयाँ मोड र रोचकता थप्ने देखिन्छ।
दीपेन्द्र लामा निर्देशित 'छ माया छपक्कै २'मा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईका साथमा दीपाश्री निरौला, प्रकाश घिमिरे, कर्मा, रमा थपालिया, रिहान गिरी, मेक्सम गौडेल, निर्मल शर्मा, रविन्द्र झालगायत कलाकारहरूको अभिनय छ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमईको संयुक्त प्रस्तुति रहेको यस फिल्मका मुख्य निर्माता रोहित अधिकारी हुन् भने निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माताका रूपमा छन्।
'छ माया छपक्कै २' असोज ३१ गते शनिबारदेखि प्रदर्शनमा आउँदैछ।