दसैंमा यसपालि एउटा रोचक संयोग जुरेको छ। शुक्रबार र शनिबारदेखि प्रदर्शनमा आउन लागेका तीनवटै फिल्म यसअघि राम्रो कमाइ गरेका फिल्मका दोस्रो शृंखला हुन्। तीनवटैसँग अघिल्लो सफलताको विरासत छ, दर्शकको अपेक्षा पनि उत्तिकै छ। तर, के तीनवटैले त्यो सफलता दोहोर्याउन सक्लान्?
यो प्रश्नको जबाफ शुक्रबारदेखि खोजिन थाल्नेछ। किनकि, दसैंको अवसर पारेर शुक्रबार दुई प्रतीक्षित मानिएका फिल्म '१२ गाउँ २' र 'आबाट आमा २' प्रदर्शनमा आउँदैछन्। दुवै फिल्मको अग्रिम टिकट बुकिङ खुलिसकेको छ। अब चासो छ, सुरूआती शो बाँडफाँटमा कसले अग्रता लिएको छ?
दुई वर्षअघि दसैंमै प्रदर्शनमा आएको '१२ गाउँ'ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। गत वर्ष प्रदर्शनमा आएको 'आबाट आमा'ले पनि राम्रो कमाइ गरेको थियो। अब यी दुवैका दोस्रो शृंखला एकैदिन हलमा आउँदैछन्। एउटा एक्सनप्रधान फिल्म हो भने अर्को पारिवारिक तथा भावनात्मक कथामा आधारित छ।
देशभरका मल्टिप्लेक्सले यी दुवै फिल्मको शो बाँडफाँट गर्दै बुकिङ खुलाएका हुन्। यद्यपि, शो संख्याको अन्तिम खाका भने आइसकेको छैन। बिहीबार दिउँसोसम्मको अवस्थाले यी फिल्मले प्रमुख मल्टिप्लेक्समा कस्तो उपस्थिति पाएका छन् भन्ने देखाउँछ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले '१२ गाउँ २'लाई काठमाडौं उपत्यकाभित्र २३ र उपत्यकाबाहिर २२ गरी जम्मा ४५ शो उपलब्ध गराएको छ। त्यस्तै, 'आबाट आमा २'ले क्युएफएक्समा उपत्यकाभित्र २३ र बाहिर २३ गरी जम्मा ४६ शो पाएको छ।
दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना सबै आउटलेटमा गरेर ‘१२ गाउँ २’लाई १६ शो दिएको छ। यहाँ 'आबाट आमा २'ले २४ शो पाएको छ।
त्यस्तै, बिग मुभिजमा '१२ गाउँ २'ले ३ र 'आबाट आमा २'ले ४ शो पाएको छ। वान सिनेमाजमा भने यी दुई फिल्मले क्रमश: ८ र ९ शो पाएका छन्। प्रारम्भिक अवस्था हेर्दा मल्टिप्लेक्समा 'आबाट आमा २'ले बढी शो पाएको देखिन्छ। यद्यपि दर्शकको माग र अग्रिम टिकट बिक्रीका आधारमा शो संख्या थपघट हुन सक्नेछ।
एक्सन र पारिवारिक कथाको प्रतिस्पर्धा
'१२ गाउँ २'लाई विराज भट्टले निर्देशन गरेका हुन्। फिल्ममा विराजसँगै उनका छोरा समीर भट्ट मुख्य भूमिकामा छन्। अनुपविक्रम शाही, खुसी कार्की, कृशु शाही, वर्षा इटानीलगायतका कलाकारको पनि अभिनय छ।
दुई वर्षअघि प्रदर्शनमा आएको ‘१२ गाउँ’बाट समीरले अभिनेताका रूपमा डेब्यु गरेका थिए। पहिलो फिल्मबाटै एक्सन हिरोको छवि बनाएका उनी दोस्रो भागमा पनि एक्सन अवतारमा प्रस्तुत भएका छन्। अघिल्लो फिल्मको सफलताले यसको दोस्रो भागप्रति दर्शकको अपेक्षा बढाएको छ।
अर्कोतर्फ, 'आबाट आमा २'लाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। यसमा पल शाह, विपना थापा, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरूङलगायतका कलाकारको अभिनय छ।
पहिलो भागले आमा र सन्तानबीचको सम्बन्ध तथा पारिवारिक संवेदनालाई प्रस्तुत गर्दै दर्शकको मन जितेको थियो। दोस्रो भागमा पनि पारिवारिक कथावस्तुलाई प्राथमिकता दिइएको छ। यद्यपि, निर्देशक चन्द्रका अनुसार पहिलो भागसँग यसको नामबाहेक कुनै सम्बन्ध छैन। यो पूर्ण रूपमा नयाँ कथा हो।
अब फरक स्वादका यी दुई फिल्ममध्ये कुनले सुरूआती व्यापारमा अग्रता लिन्छ भन्ने चासो छ।
शनिबार थपिँदै 'छ माया छपक्कै २'
शुक्रबार दुई फिल्म प्रदर्शनमा आउँदै गर्दा शनिबार अर्को प्रतीक्षित मानिएको फिल्म 'छ माया छपक्कै २' हलमा थपिँदैछ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको यस फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा, रिहान गिरीलगायतका कलाकारको अभिनय छ। कमेडी तथा पारिवारिक कथावस्तुमा आधारित यो फिल्म पनि अघिल्लो सफल फिल्मको दोस्रो शृंखला हो।
यससँगै दसैंमा प्रदर्शनमा आउने सिक्वेलको संख्या तीन पुग्नेछ। शुक्रबार दुई फिल्मले बक्स अफिसमा प्रतिस्पर्धा सुरू गर्दा शनिबार अर्को फिल्म थपिएपछि दर्शकको रोजाइ थप फराकिलो हुनेछ।
यतिमात्र होइन्, यी तीनको प्रतिस्पर्धामा कात्तिक ६ गतेदेखि अर्को प्रतीक्षित मानिएको फिल्म 'कबड्डी ५' पनि आउँदैछ।
यी सबै फिल्मलाई अघिल्लो भागको सफलताको साथ छ। तर पुरानो सफलताले मात्रै नयाँ फिल्मको व्यापार भने सुनिश्चित गर्दैन। दर्शकको प्रतिक्रिया, प्रचारप्रसार र वर्ड अफ माउथले बक्स अफिसमा प्रभाव पार्नेछ।
अब हेर्न बाँकी छ, दसैंको यो प्रतिस्पर्धामा कुन फिल्मले दर्शकको बढी साथ पाउँछ।