फिल्म 'बाटुलो जून'को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच भुवन केसी निर्देशित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा अनमोल केसी र नव-अभिनेत्री प्रिन्सी खतिवडाबीचको प्रेमकथालाई प्रमुखताका साथ देखाइएको छ। पुरानो समयको सामाजिक परिवेशमा आधारित फिल्मले तत्कालीन समयको प्रेम, सामाजिक अवस्था र जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास गरेको देखिन्छ।
ट्रेलरमा अनमोल फरक अवतारमा प्रस्तुत छन्। उनको लुक्स र चरित्रमा निर्देशकसमेत रहेका भुवन केसीको युवावस्थाको झल्को देख्न सकिन्छ। फिल्ममा भुवन र अनमोलको सहकार्यलाई पनि चासोका साथ हेरिएको छ। यो फिल्ममा अनमोल पहिलोपटक ग्रामीण चरित्र र परिवेशमा देखिएका छन्।
'बाटुलो जून'मार्फत प्रिन्सी खतिवडाले नेपाली फिल्ममा डेब्यु गरेकी छन्। त्यस्तै, लामो समयदेखि बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि यही फिल्ममार्फत नेपाली फिल्ममा पुनरागमन गरेकी छन्।
फिल्मलाई सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन्। जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा विवेक थापा सह-निर्माताका रूपमा छन्। फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ।
फिल्म यही कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउँदैछ।