अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई पहिलोपटक एकसाथ देखिने तयारीमा छन्। सुदर्शन थापा निर्देशित फिल्म 'शुभ विवाह' मा प्रदीप र सनिशाले पहिलो पटक सहकार्य गरेका हुन्।
फिल्मको अहिले धमाधम डबिङ भइरहेको छ। फिल्मका मुख्य कलाकार प्रदीप र सनिशासहित अन्य कलाकार डबिङमा व्यस्त छन्।
सनिशाले फिल्म '१२ गाउँ' बाट अभिनेत्रीका रूपमा डेब्यू गरेकी थिइन्। त्यसपछि उनका 'नरसिंहा अवतार' र 'छ माया छपक्कै २' लगायतका फिल्म प्रदर्शनमा आइसकेका छन्। यता प्रदीपको पछिल्लो रिलिज फिल्म 'एक्लो' हो। अब यी दुई ‘शुभ विवाह’ मार्फत पहिलोपटक पर्दामा जोडीका रूपमा देखिन लागेका हुन्।
सुपरहिट फिल्म 'प्रेम गीत' पछि निर्देशक सुदर्शन र अभिनेता प्रदीपबीच लामो समयपछि 'शुभ विवाह' मार्फत पुनर्मिलन भएको हो।
प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन्।
फिल्म आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउने तय छ।