लोकप्रिय नेपाली हास्य टेलिभिजन शो 'कमेडी दरबार' केही समयका लागि ब्रेक भएको छ।
शोको तेस्रो सिजनको २६ औं तथा अन्तिम एपिसोड प्रसारण भएसँगै निर्माण टिमले केही समयका लागि कार्यक्रम स्थगित गर्ने भएको हो।
शोका निर्देशक तथा होस्ट विक्की अग्रवालले अन्तिम एपिसोडमार्फत ब्रेकबारे जानकारी दिएका हुन्। 'कमेडी दरबार' टिमको फिल्म 'ककाकिकी'को प्रचारप्रसारलाई समय दिन शो केही समयका लागि रोकिएको हो।
'ककाकिकी' आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तय छ।
विक्कीले फिल्मको काम र शो एकैसाथ अघि बढाउन कठिन हुने भएकाले ब्रेक लिने निर्णय गरिएको बताए।
उनले भने, 'फिल्मकै लागि ब्रेक लिएका हौं। अब नयाँ कन्सेप्टसहित सिजन ४ लिएर आउनेछौं।' उनका अनुसार फिल्म प्रदर्शनपछि एक/डेढ महिना विश्राम लिएर नयाँ सिजन ल्याइनेछ।
उनले भने, 'दुईवटै काम एकैपटक गर्दा गाह्रो हुने भएकाले पहिले फिल्मको काम सकाएर फेरि दरबारमा लाग्ने सोच बनाएका हौं।'
विक्कीका अनुसार तिहारपछि टिम फिल्म 'ककाकिकी'को प्रचारप्रसारमा केन्द्रित हुनेछ। फिल्मको प्रदर्शनपछि भने 'कमेडी दरबार'को नयाँ सिजनको तयारी अघि बढाइनेछ।
तेस्रो सिजनको अन्तिम एपिसोडमा विक्कीले दर्शकको प्रतिक्रिया, टिप्पणी र सुझावलाई आत्मसात् गर्दै चौथो सिजनलाई अझ परिष्कृत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले भने, 'सबैको टिप्पणी, सल्लाह र सुझावलाई समेटेर सिजन ४ मा दर्शकलाई निराश नबनाउने प्रणसहित फर्किनेछौं।'
कमेडियन र अन्य चर्चित कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्दै आएको 'कमेडी दरबार'ले प्रसारण सुरू गरेको छोटो समयमै दर्शकमाझ लोकप्रियता कमाएको थियो।
विक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा तयार हुँदै आएको शोको तेस्रो सिजनको अन्तिम एपिसोडमा गायक अर्जुन सापकोटा, एलिना चौहान, प्रताप दास र रमेशराज भट्टराई अतिथिका रूपमा सहभागी थिए।