कात्तिक २० गतेदेखि प्रदर्शनमा आएको फिल्म 'पाँच पाण्डव' बक्स अफिसमा कमजोर देखिएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले प्रदर्शनको पहिलो १० दिनमा ५० लाख रूपैयाँ पनि ग्रस कमाइ गर्न नसकेको हो।
बोर्डको तथ्यांकअनुसार 'पाँच पाण्डव'ले आइतबारसम्म ४३ लाख ५० हजार ४९३ रूपैयाँ ग्रस कमाइ गरेको छ। उक्त कमाइ हुँदा फिल्मको १२ हजार २९४ वटा टिकट बिक्री भएका छन्।
वसन्त निरौला निर्देशित फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, ईभा गिरी, दीपाश्री निरौला, विनोद न्यौपाने, सरिता गिरीलगायत कलाकारको अभिनय छ।
काली रानी श्रेष्ठ निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्।