एक्सन लभस्टोरी विधामा फिल्म 'मोहनी' निर्माण हुने भएको छ। फिल्मको मंगलबारदेखि चितवनबाट छायांकन सुरू भएको हो।
विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको फिल्ममा एक्सन र प्रेमकथालाई समेटिनेछ।
मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन ६० दिनसम्म चल्ने निर्माता विजयले जानकारी दिए। उनका अनुसार चितवनबाट सुरू भएको छायांकन मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंलगायतका स्थानमा हुनेछ।
'कथाको मागअनुसार नै कलाकार छनोट गरेर छायांकन सुरू गरेका छौं। दर्शकसम्म एउटा राम्रो फिल्म पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौं,' निर्माता विजयले भने।
फिल्ममा सनिशा भट्टराई र आशिर्वाद क्षेत्रीको शीर्ष अभिनय रहनेछ। साथमा सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटानी र उत्पल झालगायतका कलाकारको अभिनय रहनेछ।
सनिशाको पछिल्लो रिलिज फिल्म 'छ माया छपक्कै २' हो भने आशिर्वाद अभिनीत फिल्म 'चिरञ्जीवी भव:' प्रदर्शन तयारीमा छ।
'मोहनी'को कथा निर्माता विजय ब्लोन तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको छ।
महेश पौडेलको छायांकन रहने फिल्ममा सम्राट बस्नेतले द्वन्द्व निर्देशन गर्नेछन्। त्यस्तै, विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन रहनेछ।
फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक तथा तेजबिक्रम केसी प्रोडक्सन म्यानेजरका रूपमा छन्।
