एकसाथ रिलिज भएका भारतीय फिल्म 'माँ' र 'कन्नप्पा' दुवैले बक्स अफिसमा कमजोर व्यापार गरेका छन्।
काजोलको हरर-थ्रिलर फिल्म 'माँ' र साउथको एक्सन-ड्रामा फिल्म 'कन्नप्पा' जुन २७ देखि संगै प्रदर्शनमा आएका थिए।
काजोलले 'माँ' बाट बलिउडमा डेब्यू गरेकी थिइन्। विशाल रेवन्ती फुरियाको निर्देशन रहेको यो फिल्मलाई लिएर रिलिजअघि राम्रो चर्चा भइरहेको थियो। करिब ५५-६० करोड भारतीय रूपैयाँ बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा सुखद् सुरूआत गरे पनि एक हप्तापछि फिल्मको कमाइमा निकै गिरावट आएको हो।
यता प्रभास, अक्षय कुमार, विष्णु मञ्चु, मोहनलाल, काजल अग्रवाल जस्ता शीर्ष स्टारहरू अभिनीत ‘कन्नप्पा’ को कमाइ झनै कमजोर देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्। मुकेश कुमार सिंह निर्देशित यो फिल्म लगभग २ सय करोडमा बनेको बताइएको छ।
भारतीय संचारमाध्यमका अनुसार फिल्म 'माँ' ले ७ दिनमा कुल २६ करोड ६५ लाख भारतीय रूपैयाँ कमाएको छ। सातौं दिनमा फिल्मले १ करोड ६५ लाख भारतीय रूपैयाँ मात्रै कमाएको छ। विश्वव्यापी कमाइलाई हेर्ने हो भने यसले ६ दिनमा ३३ करोड ७५ लाख रूपैयाँ कमाएको छ।
'कन्नप्पा' तेलुगु, हिन्दी, कन्नड र मलयालम जस्ता धेरै भाषाहरूमा रिलिज भएर पनि यसले कुनै पनि भाषामा चमत्कार गर्न सकेको छैन।
यो फिल्मले सातौं दिनमा केवल १ करोड २५ लाख भारतीय रूपैयाँ कमाएको छ र घरेलु बक्स अफिसमा कुल ३० करोड १० लाख रूपैयाँ कमाएको छ।
विश्वव्यापी कमाइको कुरा गर्ने हो भने, फिल्मले ६ दिनमा ३८ करोड ७५ लाख रूपैयाँ कमाएको छ।
बरू ब्राड पिटको स्पोर्टस् ड्रामा फिल्म 'एफ वान' ले विश्वभर राम्रो कमाइ गरिरहेको छ। यो फिल्मले भारतमा मात्रै अहिलेसम्म ३५ करोड ४८ लाख रूपैयाँ कमाएको छ।
फिल्मले पाँच दिनमै विश्वभर १५ सय करोड रूपैयाँ कमाएको जनाइएको छ।