भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सोमबार सामाजिक सञ्जाल 'एक्स' मार्फत श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री मोदीले धर्मेन्द्रको निधनलाई भारतीय फिल्म क्षेत्रमा एउटा युगको अन्त्य भएको बताएका छन्।
मोदीले लेखेका छन्, 'धर्मेन्द्रजीको निधनले भारतीय सिनेमामा एउटा युगको अन्त्य भएको छ। उहाँ एक प्रतिष्ठित व्यक्तित्व र अद्भुत अभिनेता हुनुहुन्थ्यो, जसले आफूले निर्वाह गरेका हरेक भूमिकामा आकर्षण र गहिराइ भर्नुभएको थियो।'
प्रधानमन्त्री मोदीले धर्मेन्द्रको अभिनय कौशलको प्रशंसा गर्दै अगाडि लेखेका छन्, 'उहाँले विभिन्न किसिमका भूमिका निर्वाह गर्ने शैलीले असंख्य मानिसहरूको मनमा गहिरो छाप छोडेको छ। धर्मेन्द्रजी आफ्नो सरलता, विनम्रता र आत्मीयताका कारण पनि उत्तिकै प्रशंसनीय हुनुहुन्थ्यो।'
धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको हो।
बलिउडका ‘हि–म्यान’ उपनामले चिनिने धर्मेन्द्र अस्वस्थताका कारण केही समयदेखि उपचाररत थिए। उनी दुई साताअघि मात्र अस्पतालबाट घर फर्किएका थिए। ६ दशक लामो फिल्म यात्रामा उनले ३ सय बढी फिल्ममा अभिनय गरेका छन्।