बलिउड अभिनेता टाइगर श्रफले आफ्नो अपार्टमेन्ट नौ करोड भारतीय रूपैयाँमा बिक्री गरेका छन्।
द इन्डियन एक्सप्रेसका अनुसार उनले सन् २०१८ मा ७ करोड ६१ लाख भारतीय रूपैयाँमा किनेको अपार्टमेन्ट अहिले नौ करोडमा बिक्री गरेका हुन्।
यो अपार्टमेन्ट मुम्बईको खार वेस्टस्थित रूस्तमजी प्यारामाउन्ट डी कोअपरेटिभ हाउजिङ सोसाइटीको नवौं तलामा छ।
गत साता मात्र टाइगरमाथि गोली प्रहार भएको थियो। लगत्तै उनले आफ्नो अपार्टमेन्ट बेच्दा चासो बढेको छ।
अक्टोबर १८ मा मुम्बईको जुहु क्षेत्रमा टाइगर श्रफको कारलाई लक्षित गरी गोली प्रहार भएको थियो। फुटबल खेलेर फर्किने क्रममा रहेका श्रफको कारनजिक मोटरसाइकलमा आएका तीन जनाले गोली चलाएका थिए।
घटनामा पाँच राउन्ड गोली प्रहार भएको थियो। श्रफ ठूलो चोटबाट जोगिए पनि उनका चालक र एक सर्वसाधारण घाइते भएका थिए। घटनापछि मुम्बई प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको दि इकोनोमिक टाइम्सले जनाएको छ।
गोली प्रहार घटनाको केही दिनपछि नै टाइगरले सम्पत्ति बेचेको भए पनि यी दुई घटनाबीच कुनै सम्बन्ध रहेको पुष्टि भएको छैन।
सम्पत्ति बिक्रीको निर्णय कहिले गरिएको थियो भन्नेबारे पनि सार्वजनिक विवरण उपलब्ध छैन।
बिजनेस टुडेका अनुसार टाइगरले पछिल्लो एक वर्ष अवधिमा बेचेको यो तेस्रो सम्पत्ति हो। उनले यसअघि मुम्बईकै रूस्तमजी प्यारामाउन्ट परियोजनामा रहेको अर्को अपार्टमेन्ट १५ करोड ६० लाख भारतीय रूपैयाँमा बेचेका थिए।
त्यस्तै पुणेस्थित आफ्नो आवासीय सम्पत्ति पनि आठ करोड ८७ लाख भारूमा बेचेका थिए।