दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत 'जेलर २' सर्वाधिक कमाइ गर्ने तमिल फिल्म बनेको छ।
प्रदर्शनको ११ दिनमा फिल्मले विश्वभर ७१० करोड भारू ग्रस कलेक्सन गर्दै यसअघि '२.०' ले बनाएको रेकर्ड तोडेको हो।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार 'जेलर २' ले आइतबारसम्ममा विश्वव्यापी रूपमा ७१० करोड भारू कमाएको छ। यसअघि रजनीकान्त र अक्षय कुमार अभिनीत '२.०' ले विश्वभर ६९१ करोड भारू कमाउँदै सर्वाधिक कमाइ गर्ने तमिल फिल्मको रेकर्ड राखेको थियो।
नेल्सन दिलीपकुमार निर्देशित 'जेलर २' ले भारतमा मात्रै ४६६.८५ करोड भारू ग्रस कलेक्सन गरेको छ। फिल्ममा रजनीकान्तसँगै राम्या कृष्णन, मोहनलाल, शिवराजकुमार, ज्याकी श्राफ, विद्या बालनलगायत कलाकारको अभिनय छ।
'जेलर २' अक्टोबर १५ (असोज २९) देखि प्रदर्शनमा आएको थियो। फिल्म नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ।