बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधनले सिंगो बलिउड उद्योग र उनका प्रशंसकहरू मर्माहत छन्।
धर्मेन्द्रको निधनको तीन दिनपछि उनकी श्रीमती तथा अभिनेत्री हेमा मालिनीले सामाजिक सञ्जालमा एक मर्माहत सन्देश लेख्दै आफ्नो श्रीमानप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन्।
उनले श्रीमानलाई सम्झँदै लेखेकी छिन्, 'धर्मजी मेरा लागि सबै थोक हुनुहुन्थ्यो। उहाँ एक मायालु पति, हाम्रा छोरीहरू ईशा र आहानाका स्नेहपूर्ण पिता, तथा मेरो साथी र मार्गदर्शक हुनुहुन्थ्यो।'
हेमाले धर्मेन्द्रलाई आफ्नो सुख–दुःखको साथी र आपतको बेला सधैं आड दिने आफ्नो 'सर्वस्व' को संज्ञा दिएकी छिन्।
धर्मेन्द्रको मिलनसार स्वभावको चर्चा गर्दै हेमाले उनले परिवारका सबै सदस्यलाई स्नेह र चासो देखाएर सबको मन जितेको बताएकी छिन्। एक सार्वजनिक व्यक्तित्वका रूपमा उनको प्रतिभा र अपार लोकप्रियताका बाबजुद उनमा जुन विनम्रता थियो, त्यसले उनलाई अन्य दिग्गजहरूभन्दा फरक र अद्वितीय बनाएको हेमाले लेखेकी छन्।
आफ्नो व्यक्तिगत पीडा व्यक्त गर्दै हेमाले यो क्षति अवर्णनीय रहेको र उनको अनुपस्थितिले सिर्जना गरेको शून्यता बाँकी जीवनभर रहने उल्लेख गरेकी छिन्। वर्षौंको साथपछि आफूसँग अब विशेष क्षणहरूका अनगिन्ती सम्झनाहरू मात्र बाँकी रहेको बताएकी छन्।
फिल्म उद्योगमा धर्मेन्द्रको प्रसिद्धि र उपलब्धिहरू सधैंभरि रहने उनले बताएकी छन्।
धर्मेन्द्रको ८९ वर्षको उमेरमा गत सोमबार (नोभेम्बर २४) मा निधन भएको थियो। उनका फ्यान तथा प्रशंसकहरू नेपालमा पनि थुप्रै छन्।