भारतीय अभिनेता हर्षवर्धन राणे र अभिनेत्री सोनम बाजवाको मुख्य भूमिका रहेको फिल्म 'एक दिवाने की दिवानियत' ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ।
संचारमाध्यमहरूका अनुसार यो रोमान्टिक ड्रामा जम्मा २५ करोड भारूको न्यून बजेटमा निर्माण भएको थियो। फिल्मले दर्शकको राम्रो साथ पाउँदै ४० दिनभन्दा बढी समय हलमा टिकेर 'सुपरहिट' को ट्याग पाउन सफल भएको छ।
मिलाप मिलन जावेरीको निर्देशनमा बनेको फिल्म गत अक्टोबर २१ देखि प्रदर्शनमा आएको थियो। प्रदर्शनको क्रममा 'थामा', 'दे दे प्यार दे २' र 'कान्तारा च्याप्टर १' जस्ता ठूला र बहुप्रतिक्षित फिल्महरूसँग कडा प्रतिस्पर्धा गर्नुपरे पनि यसले दर्शकको राम्रो साथ पायो।
भारतमा मात्रै फिल्मले ८५.८० करोड भारू नेट कमाइ गरेको जनाइएको छ। भारत बाहिरबाट फिल्मले १६.५० करोड भारू कमाएको छ।
विश्वव्यापी बक्स अफिसमा ११७.७४ करोड भारू ग्रस कलेक्सन गर्दै यो फिल्म २०२५ को तेस्रो सर्वाधिक कमाउने बलिउड रोमान्टिक फिल्म बन्न सफल भएको छ।
यो फिल्मको सफलतासँगै अभिनेता हर्षवर्धन पहिलो पटक सय करोड क्लबमा प्रवेश गरेका छन्।