बलिउड अभिनेता अभिषेक बच्चनले आफ्ना बुवा सुपरस्टार अमिताभ बच्चनका फिल्महरू कहिल्यै 'रिक्रिएट' (रिमेक) नगर्ने बताएका छन्। मुम्बइमा हालै आयोजित 'आईएफपी फेस्टिभल' मा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
'म कहिल्यै पनि बुवाका फिल्महरू रिक्रिएट गर्न चाहन्नँ,' कार्यक्रममा अभिषेकले भने, 'किनभने म अमिताभ बच्चन बन्ने चाहना राखेर हुर्किएको हुँ। म उहाँको सबभन्दा ठूलो फ्यान हुँ।'
बाल्यकालको स्मरण गर्दै उनले थपे, 'कुनै समय म बुवाका फिल्म मात्र हेर्थें र साथीहरूसँग मिलेर पछाडिको आँगनमा पुरै फिल्मको नक्कल गथ्र्यौं। मेरो पुस्ताका धेरैजसो मानिस उहाँलाई नै आदर्श मानेर हुर्किएका हुन्।'
अभिषेकले एक कलाकारका रूपमा बुवाको कामलाई आफूले कहिल्यै उछिन्न नसक्ने बताए।
उनले भने, 'म अमिताभ बच्चनलाई अहिलेसम्मकै महान् कलाकार मान्छु। उहाँको फिल्म हेर्दा ‘यो भूमिका म अझ राम्रो गर्न सक्थेँ’ भन्ने मलाई कहिल्यै लाग्दैन। अमिताभ बच्चनभन्दा राम्रो अभिनय अरू कसैले गर्न सक्दैन, त्यसैले उहाँका फिल्म फेरि बनाउनुको कुनै अर्थ छैन।'
अभिषेकको आगामी प्रोजेक्टको कुरा गर्दा, उनी अब शाहरूख खानको बहुप्रतिक्षित फिल्म 'किङ' मा मुख्य खलनायकको भूमिकामा देखिनेछन्। यो फिल्म अर्को वर्ष प्रदर्शनमा आउनेछ।