धनुष र कृति सेनन अभिनीत भारतीय फिल्म 'तेरे इश्क में' ले बक्स अफिसमा राम्रो प्रदर्शन जारी राखेको छ।
आनन्द एल राय निर्देशित फिल्मले मंगलबारसम्म भारतमा मात्रै ७१ करोड भारतीय रूपैयाँ नेट कमाइ गरेको छ। फिल्मले पाँच दिनमा उक्त कमाइ गरेको हो।
भारतीय ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले पाँचौं दिन मंगलबार १० करोडमाथिको व्यापार गरेको छ।
फिल्मले शुक्रबार १६ करोड, शनिबार १७ करोड, आइतबार १९ करोड र सोमबार ८.७५ करोड भारू कमाइ गरेको थियो। सोमबार व्यापारमा केही गिरावट आए पनि मंगलबार फिल्मले फेरि गति लिएको हो।
योसँगै फिल्मले धनुषको अघिल्लो फिल्म 'इडली कढाई' (५० करोड) को कुल कमाइलाई उछिनिसकेको छ। फिल्मको प्रदर्शन हेर्दा हेर्दा यसले चाँडै नै ९१ करोड कमाएको 'कुबेरा' लाई पछि पार्दै सन् २०२५ मा धनुषको सबभन्दा हिट फिल्म बन्ने अनुमान गरिएको छ।
'तेरे इश्क में' मा धनुष र कृतिको केमेस्ट्री तथा अभिनयलाई दर्शकहरूले रूचाएका छन्। आनन्द एल राय, हिमांशु शर्मा र भूषण कुमारद्वारा निर्मित यो फिल्म कलर यल्लो प्रोडक्सन र टी-सिरिजको ब्यानरमा बनेको हो।
'तेरे इश्क में' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शन भइरहेको छ। नेपालमा पनि फिल्मले राम्रो प्रदर्शन गरिरहेको जनाइएको छ।