भारतीय अभिनेता अजय देवगनको फिल्म 'दे दे प्यार दे २' ले विश्वव्यापी बक्स अफिसमा 'भोला' को लाइफटाइम कमाइलाई उछिनेको छ।
त्योसँगै 'दे दे प्यार दे २' अजय देवगनको कोभिड महामारीपछिको पाँचौं सर्वाधिक कमाउने फिल्म बनेको छ।
अजय देवगन, रकुल प्रीत सिंह र आर माधवन मुख्य भूमिकामा रहेको फिल्म नोभेम्बर १४ देखि प्रदर्शनमा आएको थियो।
फिल्मले १९ दिनमा भारतीय बक्स अफिसमा १०३.४८ करोड भारू ग्रस कलेक्सन गरेको छ। त्यस्तै, भारतबाहिर फिल्मले हालसम्म २३ करोड भारू ग्रस कमाइ गरेको छ। भारत र विदेशको कमाइ जोड्दा १९ दिनमा फिल्मको कुल विश्वव्यापी बक्स अफिस कलेक्सन १२६.४८ करोड भारू पुगेको छ।
फिल्म बक्स अफिसमा आफ्नो प्रदर्शनको अन्तिम चरणमा आइपुगेको छ। शुक्रबारदेखि हलमा नयाँ फिल्म 'धुरन्धर' प्रदर्शनमा आउने भएकाले 'दे दे प्यार दे २' को शो संख्या न्यून रहने अनुमान गरिएको छ।
अजयको फिल्म 'भोला' ले करिब १२३ करोड भारू कमाइ गरेको थियो। अजयका कोभिड महामारीपछि प्रदर्शनमा आएका र 'दे दे प्यार दे २' भन्दा धेरै कमाइ गरेका फिल्महरूमा 'सिंघम अगेन', 'दृश्यम २', 'रेड २' र 'शैतान' छन्।
सन् २०२४ मा रिलिज 'सिंघम अगेन' ले विश्वव्यापी करिब ४०२ करोड भारू कमाएको थियो। सन् २०२२ मा आएको 'दृश्यम २' ले करिब ३४५ करोड भारू कमायो । त्यस्तै, सन् २०२५ को 'रेड २' ले करिब २४२ करोड भारू कमायो भने २०२४ को 'शैतान' को कमाइ करिब २१६ करोड भारू रह्यो।
अजयको पछिल्लो फिल्म 'दे दे प्यार दे २' नेपालमा भने प्रदर्शनमा आएन।