बलिउड अभिनेता रणवीर सिंह स्टारर जासुसी थ्रिलर फिल्म 'धुरन्धर' ले अहिले राम्रो चर्चा कमाइरहेको छ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले भारतसहित विश्वभर राम्रो कमाइ गरिरहेको हो। फिल्म हेरेका दर्शकहरूमा यसको अन्त्यसँगै दोस्रो भाग अर्थात् ‘धुरन्धर २’ को समेत प्रतीक्षा सुरू भएको छ। किनकी 'धुरन्धर' को अन्त्यमा कथा अपूरो छोड्दै करिब साढे तीन महिनाको छोटो समयमै दोस्रो भाग आउने घोषणा गरिएको छ।
'धुरन्धर २' सन् २०२६ को मार्च १९ मा रिलिज हुने घोषणा भएको हो। फिल्म हेर्न जाने दर्शकहरूले दोस्रो भागको घोषणा र प्रदर्शन मितिबारे जानकारी पाउँछन्। यो घोषणासँगै फिल्मको निर्माण अवस्थाबारे समेत चासो बढेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार 'धुरन्धर २' को निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ। पिंकभिल्लाले उल्लेख गरे अनुसार निर्देशक आदित्य धरले सुरूदेखि नै फिल्मलाई दुई भागको शृंखलाको रूपमा तयार पारेका थिए। निर्माण पक्षले दुवै भागको छायांकन एकैसाथ वा अघिपछि सम्पन्न गरिसकेको बताइएको छ।
पहिलो भाग रिलिजको छोटो समयमै दोस्रो भाग आउने घोषणा हुनुले पनि फिल्मको सुटिङ सकिएर अहिले प्राविधिक काम मात्र बाँकी रहेको बुझिन्छ। फिल्मको रिलिज मिति विशेष गरी इदको बिदा पारेर तय गरिएको हो।
रोचक कुरा के छ भने, उक्त मितिमा दक्षिण भारतीय सुपरस्टार यशको बहुप्रतिक्षित फिल्म 'टक्सिक' पनि रिलिज हुने चर्चा छ।
'धुरन्धर' का कलाकारहरूको कुरा गर्दा यसमा रणवीरसहित अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल, आर माधवन लगायतको पनि अभिनय छ। यो फिल्म नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शन भइरहेको छ।